२०८१ मंसिर ६, बिहिबार
लालझाडी गाउँपालिकाको उत्तर–पश्चिम भएर बग्छ दोदा नदी । दोदा नदीमा बाह्रै महिना पानी हुन्छ । हिउँदमा पानी थोरै हुन्छ भने वर्षातमा पानीको मात्रा धेरै हुन्छ । नदीमा ओहोरदोहोर गर्न स्थानीयले विभिन्न उपाय अपनाउँदै आएका छन्।
स्थानीयले दोदा नदीमा ओहोरदोहोर गर्न हिउँदमा काठे पुल निर्माण गर्छन भने वर्षातमा ट्युबको प्रयोग गर्छन् । सरकारले दोदा नदीमा पुल निर्माण नर्गदा लालझाडीबासी लामो समयदेखि समस्या भोग्दै आएको लालझाडीका स्थानीय रेखा राना बताउँछिन् । ‘दोदा नदीले हामीलाई धेरै दुःख दियो,’ उनले भनिन्, ‘सरकारले पुल निर्माणमा चासो दिदैन्, हामीले कहीलेसम्म काठे पुल र ट्युबबाट ओहोरदोहोर गर्ने ?’
दोदा नदीमा पुल नुहँदा लालझाडी गाउँपालिकामा प्रवेश गर्न रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । ‘लालझाडी जानका लागि दोदा पार गर्नै पर्छ,’ उनले भनिन्, ‘नदीमा पुल छैन्, अहिले नदीमा ट्युबमार्फत नदी वारपार गर्न सकिन्छ।’
ट्युबमार्फत दोदा नदीमा ओहोरदोहोर गर्न २० रुपैयाँदेखि २ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको लालझाडीका स्थानीय अमरसिंह रानाले बताए । ‘वर्षातमा दोदा नदीमा पानीको मात्रा धेरै हुन्छ,’ उनले भने, ‘नदीमा ओहोरदोहोर गर्न रुपैयाँ तिरेर ट्युबबाट ओहोरदोहोर गर्नुपर्छ ।’
दोदा नदीमा ट्युबमार्फत पैदल यात्रु र साना सवारीसाधन ओहोरदोहोर गरिन्छ । ट्युबबाट नदीमा वारपार गर्न मोटरसाइकलको २ सय रुपैयाँ र साइकलको २० देखि २५ रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ । ‘वर्षातमा ट्युबको प्रयोग गर्छौ,’ स्थानीय शन्तराम रानाले भने, ‘हिउँदमा काठे पुल निर्माण गर्नुपर्छ ।’
दोदा नदीमा ओहोरदोहोर गर्न बाह्रै महिना रुपैयाँ तिर्नु परेको उनको भनाई छ । ‘यो नदीले दक्षिण क्षेत्रका बासिन्दालाई धेरै दुःख दियो,’ उनले भने, ‘तर, सरकारले पुल निर्माण गर्दैन, निर्माण भइरहेका पुल समेत अलपत्र छोडिएको छ ।’
लालझाडीको देखतभुली र जाइँ जोड्ने दोदा नदीमा पुल निर्माणाधीन छ । तर निर्माणमा भइरहेको ढिलाइका कारण यहाँका स्थानीय हिउँदमा काठे पुल र वर्षातमा ट्युबकै भर पर्न बाध्य छन् । असोज अन्तिमदेखि जेठसम्म नदी तर्न काठे पुलको भर पर्नुपर्छ भने त्यसपछि ट्युबको प्रयोगबाट आवतजावत गरिन्छ ।
पुल निर्माण ठप्प
लालझाडी गाउँपालिकाको देखतभुली–पर्सिया जोड्ने दोदा नदीमाथि पक्की पुल निर्माणको कार्य अलपत्र परेको छ । पुलको डिजाइनमा प्राविधिक समस्या देखिएपछि पुल निर्माण अलपत्र परेको हो । २०७२ पुष २६ देखि सुरु भएको पुलको निर्माण कार्य झन्डै ३ वर्षदेखि ठप्प छ ।
देखतभुली–पर्सिया जोड्ने १ सय ७० मिटर लामो पक्की पुल २०७५ पुष २६ गतेसम्म निर्माण सम्पन्न गरिसक्नु पथ्र्यो । तर, फुटपाथसहित २ लेनको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी राजेन्द्र श्रेष्ठ जेभीले प्राविधिक समस्या आएको भन्दै निर्माण ठप्प पारेको हो ।
पुलको डिजाइनमा समस्या आएकाले पुल निर्माणमा ढिलाई भएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशी बताउँछन् । ‘पुलको डिजाइनमा समस्या रहेछ, निर्माण व्यावसायीले पुलको डिजाइन रिभ्युको माग गर्दै पत्र दियो,’ उनले भने, ‘पुलको डिजाइन परिवर्तनमा समय लाग्यो, अहिले विभागले डिजाइन तयार गरेको छ ।’
सडक विभागले पुल निर्माणको लागि डिजाइनसहित अनुमति दिएपछि काम सुरु हुने सूचना अधिकारी जोशीले बताए । ‘यतिबेलासम्म पुल निर्माणको काम सकिएर सञ्चालन आइसकथ्यो,’ उनले भने, ‘तर, डिजाइनमा समस्या आएपछि पुल निर्माण नै ठप्प भयो ।’
नयाँ डिजाइन अनुसार निर्माण व्यावसायीलाई काम गर्न लगाइने उनी बताउँछन् । ‘नयाँ डिजाइन आएपछि काम गर्न निर्माण व्यवसायीलाई पत्राचार गर्छौ,’ उनले भने, ‘अब पुल निर्माणको काम १/२ महिनापछि सुरु हुन्छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी