२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर ।
बाजुरा सदरमुकाम मार्तडीबाट करिब ७५ किलोमिटर उत्तर–पूर्वी दिशामा पर्छ, हिमाली गाउँपालिका । भौगोलिक रुपले विकट सो गाउँपालिकाको वडा नम्बर ५ मा क्युडी भन्ने गाउँ छ ।
गाउँपालिकाको केन्द्रबाट झण्डै एक दिन पैदल हिँडेर पुगिने क्युडीमा ९७ परिवारको बसोबास छ । तर अहिले पहिरोका कारण उनीहरु त्यहाँबाट विस्थापित भएका छन् ।
प्रत्येक वर्ष आउने पहिरोका कारण गाउँमा जोखिम बढे पछि क्युडीबासीको उठीबास भएको हो । असारको पहिलो साता क्युडीमा पहिरोले अधिकाँसका घरमा क्षति पु¥याएको थियो भने केहीका घर त पुरै भगायो ।
स्थानीयका अनुसार बाली उब्जाउ हुने खेत पनि पहिरोले तहसनहस गरेको छ । अव्यवस्थित रुपमा जंगल फडानी गरेर बस्ती बस्दा र बस्तीको तलबाट सडक विस्तार गर्दा गाउँ पहिरोको जोखिममा परेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल बताउँछन् ।
‘सुरुमा बस्ती थोरै थियो । आजभोली जंगल फडानी गरेर बस्ती बसाइएको छ । र गाउँ नजिकैबाट सडक बनाएकाले बाढी पहिरोको जोखिम बढेको छ ।’ उनले भने, ‘त्यसैले गाउँमा बस्न नमिल्ने भए पछि उहाँहरुलाई अन्यत्र बस्न लगाइएको छ ।’
उनका अनुसार अहिले गाउँ चिराचिरा परेर भासिएको छ । र कसैका घर भत्किएका छन् भने कसैका घर बांगाटिंगा भएका छन् ।
यस्तै जमीन भासिएर कमजोर भए पछि गाउँकोबीच भाग भएर बग्ने खहरे खोलाले पनि कटान गर्न थाले पछि जोखिम बढेको स्थानीय बताउँछन् ।
क्युडी सडक सञ्जालसंग जोडिएको थिएन । सुदूरपश्चिम प्रदेश सरकारले गाउँकै मुनितिरबाट सडक (रुगिन–बिच्छ्या पहुँच) मार्ग बनाएको छ । जसले गर्दा गाउँ नै भासिएर त्यहाँका बासिन्दाले विस्थापित हुनु परेको छ ।
सडक सञ्जाल पुगे पछि आवातजावतमा सहज हुने भन्दै खुसी भएका गाउँले सोही सडकका कारण विस्थापित हुनु परेको हो । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक विस्तार गर्न डोजर प्रयोग भए पछि गाउँ भासिएको गाउँपालिकाका एक कर्मचारीले बताए ।
‘गत वर्ष बर्खाको बाढीले गाउँ क्षतविक्षत भएको थियो । त्यसैमा यो वर्ष अन्धाधुन्ध रुपमा डोजर चलाइयो ।’ उनले भने, ‘त्यसैले जमिन भासिएर गाउँमा जोखिम बढे पछि गाउँलेले बसाइसराइ गर्नु परेको छ ।’
उनका अनुसार ९७ परिवार नै बसाई सरेर गाउँ नजिकैको जंगलमा बसेका छन् । जंगलमा न उनीहरुका लागि राम्रो बास छ न त गाँस नै । पहिरोले विस्थापित क्युडीबासीले घरभित्रका अन्नबाली, लत्ताकपडा बगाए पछि जंगलमा दयनीय जीवन बिताइरहेका छन् ।
‘ओढ्ने–ओछ्याउने छैन । ओत लाग्ने पाल छ । तर सबैलाई पुगेको छैन । पानी प-यो भने झनै समस्या हुन्छ ।’ ती कर्मचारीले भने, ‘३/४ परिवार एउटै त्रिपालमा कोचाकोच गरेर बसेका छन् ।’
अहिले क्युडीबासीलाई गाउँपालिकाले बस्नको लागि त्रिपाल तथा खाद्यान्न वितरण गरेका गाउँपालिकाका अध्यक्ष मल्लको दाबी छ । उनका अनुसार खानेपानीको व्यवस्था र अस्थायी शौचालय पनि निर्माण गरिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी