२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर :
मंगलबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपद् सम्बन्धि एक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि र बाढीपीडित सहभागीता थिए ।
त्यहीँ भेलामा भीमदत्त नगरपालिका–९ मसेट्टीकी ६५ वर्षीया वृद्धा दीर्घमती खड्का पनि थिइन । उनी गत साताको महाकालीको नदीको बाढीपीडित हुन ।
परम्परागत पहिरनमा सझिएकी उनमा सबैको ध्यान केन्द्रीत थियो । कार्यक्रममा सहभागी संघीय सांसद, मेयर तथा अन्य विभिन्न राजनीतिक दलका नेताहरु बोल्ने बेलामा उनी आफ्नो सानो झोलाबाट मोबाइल निकाल्थिन । र, उनीहरुले बोलेको कुरा मोबाइलमा भिडिओ कैद गरिरहेकी थिइन ।
बाढीपीडितलाई जनप्रतिनिधि र नेताहरुले दिएको आश्वासन भोलीका दिनमा देखाउन भिडिओ संकलन गरिरहेको उनले बताइन । ‘अहिले हामी यस्तो ग-छौँ भनेर भनेका छन् । भोलीका दिनमा हुन्छ कि हुदैन ठेगान छैन ।’ दीर्घमतीले दैनिक सञ्चारसंग भनिन्, ‘त्यसैले उनीहरुले गरेको बाचा पुरा भएकी भएनन् भनेर देखाउन भिडिओ बनाइरहेकी छुँ ।’
उनको छेउमै मसेट्टकै ३५ वर्षीय लक्ष्मण सिंह नायक पनि थिए । बिपद् सम्बन्धि कार्यक्रम छ भन्ने जानकारी पछि कार्यक्रममा सहभागी भएर आफ्नो गुनासो राख्न ७ जना मसेट्टीबाट मंगलबार महेन्द्रनगर झरेका थिए ।
सोमबार बेलुका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले उनीहरुलाई कार्यक्रम बारे जानकारी गराए । र, त्यहाँ सहभागी भएर आफ्नो समस्या राख्न सुझाए ।
मनसुन पछिको भारी वर्षाले महाकाली नदीमा आएको बाढी गाउँ पस्दा मसेट्टीका ९ परिवार घर न घाटका भएका छन् ।
उनीहरुको खेतीयोग्य जमीन, घर, रासन लत्ताकपडा सबै बाढीले बगाएको छ । बाढीमा सर्वस्व गुमाएका मसेट्टीबासीले ज्यान मात्रै जोगाउन सकेका छन् ।
तराईको जिल्ला कञ्चनपुरको सबैभन्दा विकटका ठाउँ हुन– भीमदत्त नगरपालिका–९ का खल्ला, मसेट्टी र टुडीखेल । यहाँको भौगोलिक बनावट ठ्याक्कै पहाडी भेगको जस्तै छ ।
चुरे पर्वत श्रृङ्खलामा रहेको महाकाली नदी किनारका यी बस्ती बाढीले निकै प्रभावित बने । बाढीले दिएको त्यहीँ पीडा सुनाउन मसेट्टटीका ७ जना मंगलबार बिहान महेन्द्रनगर झरे ।
बाढीले अस्तव्यवस्त बनाए पछि उनीहरुको खान, बस्नको केही ठेगान छैन । जनप्रतिनिधि तथा नेताहरुलाई मसेट्टीबासीको पीडा सुनाउन बिहान उनीहरु घरबाट हिँडेका थिए । बाढीले गाउँसम्म पुगेको बाटो बिगारेको छ । गाडीहरु त्यहाँ जान सकेका छैनन् ।
उनीहरु बाटो बिग्रिएको हुनाले कठिनाइपूर्ण यात्रा गर्न बाध्य भए । त्यसैले मसेट्टीका लक्ष्मणसिंह नायक, दीर्घमती खड्का, धन बहादुर खड्का, देवसिंह खड्का, बिमला बम, किसन चन्द र हरिश साउँद ‘गाउँका गुनासा’ बोकेर हिँडेरै ब्रह्मदेव बजार पुगे ।
‘बिहान खाना नखाएरै साढे ६ बजे घरबाट हिडेका हौँ । तीन घण्टा हिडेर ब्रह्मदेव पुग्यौँ ।’ लक्ष्मण भन्छन्, ‘त्यस पछि त्यहाँबाट अटो चढ्यौँ र महेन्द्रनगर पुग्यौँ ।’
उनीहरु पुग्दा कार्यक्रम सुरु भइसकेको थियो । अनी पछाडीको ढोकाबाट सुटुक्क कार्यक्रमस्थलमा पसे । र, जनप्रतिनिधि र नेताहरुको भाषण सुन्न थाले ।
‘घर र खेतीबाली सबै बाढीले बगाएको छ । बस्ने ठाउँ नै रहेन । दशक पछि पुगेको गाउँको बिजुली, टेलिफोन सेवा पनि बन्द हुँदा झनै समस्या भएको छ ।’ लक्ष्मणले भने, ‘नेता, जनप्रतिनिधि ठूला मान्छेलाई गुनासो राख्न आएका हौँ । केही गर्छन कि भनेर तर, आश्वासन मात्रै दिएका छन् ।’
बाढीले गर्दा भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुडीखेलको सडक सञ्जाल र सञ्चार पहुँच टुटेको छ । बिद्युत नहुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य छन् ।
‘नेताहरु गर्छौ त भन्छन् तर हाम्रो लागि अहिलेसम्म कसैले केही गरेका छैनन् । साँझ बिहान दुई छाक टार्न समस्या भएको छ । इष्टमित्रको घरमा आश्रय लिएर बस्नु परेको छ ।’ स्थानीय धनबहादुर खड्काले भने, ‘समस्याहरु सुनाएका सुनाए छौँ । तर हाम्रो पीडा कोही सुन्दैन । यो कार्यक्रममा पनि आश्वासन मात्रै पायौँ । अब रित्तो हात घर फर्किनु पर्छ ।’
आश्वासन मात्रै नदिएर तत्कालन पीडीतहरुको समस्या समाधान गर्नु पर्नेमा उनले जोड दिए । भीमदत्त नगरपालिकाको वडा नम्बर ९ बाढीले निकै प्रभावित भएकाले यसको दीर्घकालिन समाधान खोजिनु पर्ने वडाध्यक्ष राम नाथ बताउँछन् ।
बाँध निर्माण गरेर मात्रै बस्तीमा बाढीको जोखिम न्यूनिकरण नहुने उनको भनाई छ । ‘बाँध निर्माणका लागि अर्बौ बजेट आवश्यक पर्छ । यसले पनि बस्ती जोखिममुक्त हुन सक्दैन ।’ वडाध्यक्ष नाथले भने, ‘बस्तीलाई स्थानान्तरण गर्नु पर्छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी