२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । चौधरीले माछा र भुरा बेचेर वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् । दुई बिघा जग्गामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चारवटा पोखरीमा उहाँले माछापालन गर्दै आएका हुन् । उनका अनुसार तीन वटा पोखरीमा भुरा र एउटा पोखरीमा माछा उत्पादन गरी बेच्ने गरेको छ। विगत तीन वर्षदेखि व्यावसायिक रुपमा माछापालनमा लागेका चौधरीले पोखरी निर्माणमा तीन लाख खर्च गरेका छन् । माछाका भुरा र दाना खरिदका लागि दुई लाख ५० हजार खर्च लाग्ने गरेको छ । यसवर्षको हालसम्म उनले पाँच क्विन्टल माछा एक लाख ५० हजारमा बिक्री गरेका छन् । माछाका भुरा भने पाँच लाखको बिक्री भइसकेको छ । “मत्यस्यपालन केन्द्र गेटाबाट माछाका ह्याच भुरा ल्याएर आउछौं”, चौधरीले भने, “पोखरीमा केही दिन हुर्काएर फिङ्गर साइजका बनाएर माछापालक किसानलाई बिक्री गर्दैआएका छौं ।” चौधरीले पोखरीमा हुर्काएका माछाका भुरा कञ्चनपुरदेखि कैलालीसम्म बिक्री हुने गरेको छ । खाने माछा स्थानीय बजारमै खपत हुने गरेको छ । माछा र माछाका भुरा पोखरीबाटै व्यापारीले आएर नगदमै खरिद लग्ने गरेका छन् । “पहिला आठ नौ वर्षअघि देखि परम्परागत तरिकाले एउटा पोखरीमा मात्रै माछापालनको कार्य गर्दै आएका थियौं”, उनले भने, “घरमा खानका लागि पनि मुस्किल हुन्थ्यो । माछा हुर्कदैन्थ्यो । केही हुर्के पनि पोखरीमै मर्ने गरेका थिए ।” माछापालनका आधुनिक तरिका सिकेपछि हाल माछाको उत्पादन बढाउन सकिएको उनको भनाइ छ । भुरा समेत हुर्काएर बेच्न थालेपछि आम्दानी चाहेजस्तै हुँदै आएको उनले बताए । पहिला माछापालनका लागि परम्परागत रुपमा बनाइएको एउटै पोखरी बाहेक अन्य जग्गामा अन्नबाली लगाउने गरिएको थियो। अन्नबालीबाट वर्षमा मुस्किलले ३० हजार मूल्य बराबरको मात्रै उत्पादन हुने गरेको चौधरीले बताए । व्यवसायिक रुपमा माछापालन सुरु गरेपछि आम्दानी बढ्दै गएको उनको भनाइ छ। चौधरीले पोखरी बनाइ बाँकी रहेको जग्गामा व्यावसायिक रुपमा आलुखेती गर्दै आएका छन् । कार्डिनल जातको आलुखेती गर्दै आएका चौधरीले प्रतिवर्ष १२० क्विन्टल आलु उत्पादन गर्दै आएका छन् । उत्पादित आलु बिक्री गरेर उनले अतिरिक्त आम्दानी हात पार्ने गरेका छन् । यसवर्ष बेमौसमी वर्षाका कारण आलु रोप्न पाएका छैनन् । समयमै आलु रोप्न नपाउँदा उत्पादन घटने चिन्ता उनलाई छ । माछाका भुरा र आलु बिक्रीको रकमबाट चौधरीले दुई छोरालाई काठमाडौँमा राखेर उच्च शिक्षा पढाउँदै आएका छन् । माछाका भुरा र आलु बिक्रीको रकमले सिँचाइका लागि बोरिङ, खेत जोत्नका लागि ट्र्याक्टर समेत खरिद गरेको उनले बताए । “भविष्यका लागि केही रकम बैंकमा बचत गर्ने कार्य समेत हुँदै आएको छ” उनले भने, “जोखिमबाट जोगिनका लागि जीवन बीमा समेत गराएका छौं। आलुखेती र माछाकोसमेत बीमा गर्ने योजना छ ।” रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी