२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
कैलाली कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना थारू समुदायले राष्ट्रिय जनगणना–२०७८ मा सहभागिताका लागि समुदायलाई सचेतीकरण गरी सशक्त बनाएको छ । राना थारू समुदायको बाहुल्यता रहेका क्षेत्रमा नेपाल राना थारू समाजले सचेतीकरण अभियान सञ्चालन गरेको हो । “जनगणनाका लागि घरदैलोमा पुग्ने गणकलाई सघाउ पु¥याउनका लागि अभियान सञ्चालन गरेका हौँ”, नेपाल राना थारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले भने, “पहिलोपटक राना थारू समुदायको पनि गणना हुँदैछ । यसमा हाम्रो पनि अर्थपूर्ण तरिकाले सहभागिता रहन्छ ।” सचेतीकरण अभियान सकेर गणकलाई सत्यतथ्य विवरण उपलब्ध गराउने कार्यमा जुटेको उनले बताए । “यसअघिका जनगणनामा राना थारूलाई छुट्टै रुपमा समेटिएको थिएन”, उनले भने, “यस पटकको जनगणनाका लागि तयार गरिएको भाषाभाषीको प्रश्नावलीमा समेत राना थारू भाषालाई समेटिएको छैन् ।” कन्फ्युजनको अवस्था रहेको छ । थारू शब्दावली मात्रै उल्लेख गरिएको छ । थारू मात्रै उल्लेख गरिएको शब्दावलीमा सही लगाउँदैनौँ। अन्य भन्ने कोलममा राना थारू भनेर जनाउँछौँ । थारू मात्रै लेख्दा राना छुट्छ । राना मात्रै लेख्दा थारू छुट्ने भएकाले अपूरो हुन्छ, त्यसैले मातृभाषामा राना थारू, पुख्र्यौलीदेखि बोलिने भाषामा राना थारू र जातजाति के हो भन्नेमा राना थारू भनेर जनाइने उनले बताए । “यसअघिका जनगणनामा थारू मात्रै लेख्दा छुट्टै पहिचान भएको समुदाय भनेर चिनिएनौँ । राज्यले नीतिनिर्माण गर्दा समेटिएनौँ। अब त्यस्तो गल्ती दोहरिन नदिनका लागि सचेत भएका छौँ,” अध्यक्ष रानाले भने। राना थारू समुदायको छुट्टै आदिवासी जनजातिको सूचीमा सूचीकृतसँगै भाषासमेत सूचीकृत भइसकेको अवस्थामा पनि राज्यका हरेक क्षेत्रमा पहुँच पुग्न सकेको छैन। राना थारू समुदायको उपस्थितिबारे राज्यलाई पूर्णरुपमा जानकारी नहँुदा राना थारू समुदाय अधिकारबाट वञ्चित हुँदै आएको राना थारू समुदायका अगुवाहरुको भनाइ छ । “सूचीकृत भएर मात्रै नपुग्ने भएकाले राना थारू समुदायको अवस्थाबारे जानकारी हुन आवश्यक छ”, सुग्रिव रानाले भने, “यसका लागि जनगणनामा राना थारूको भाषासँगै, छुट्टै संस्कृति, पहिरन, चालनचलन, रहनसहन र सङ्ख्या यकिन हुन्छ। त्यसकै आधारमा राज्यले नीतिनिर्माण गर्ने, कानुन निर्माण गर्ने र आरक्षणको व्यवस्था गर्छ ।” भूगोल, जाति अनुसार आरक्षण र जनसङ्ख्याका आधारमा नीतिनिर्माण हुने भएकाले जनगणनाका लागि पुग्ने गणकलाई सत्यतथ्य सूचना उपलब्ध गराउनका लागि खटिएको उनले बताए । “पछाडि पारिएको समुदाय भएकाले अधिकारबाट वञ्चित रहेको छ”, स्थानीयवासी रामभरोसा रानाले भने, “यसका लागि राज्यले आरक्षण दिनुपर्छ । राज्यका हरेक तहमा पहुँच पु¥याउनुपर्छ । यसका लागि जनगणनामा सहभागिता जनाएका छौँ ।” जनगणनाका लागि गणकलाई सत्यतथ्य जानकारी उपलब्ध गराई शिक्षा, स्वास्थ्य, आवाससँगै रोजगारीका हरेक क्षेत्रमा राना थारू समुदायको पहुँचका अभिवृद्धि गर्ने लक्ष्य रहेको उनको भनाइ छ । जनजातिको सूचीमा छुट्टै रुपमा सूचीकृत भएपछि भाषा सूचीकरणसँगै राना थारू समुदायको शब्दकोश निर्माण र व्याकरण निर्माणको कार्यसमेत गरिएको छ । जनगणनामा छुट्टै रुपमा राना थारू समुदायको जनगणना हुँदैछ, यो नै उपलब्धि भएको सुदूरपश्चिम प्रदेशसभाका सदस्य श्यामलाल रानाल बताए । राना थारू समुदायको पहिचानको मुद्दालाई निष्कर्षमा पु¥याउनका लागि राजनीतिक, सांस्कृतिक, प्रशासनिक, न्यायिक र शैक्षिक क्षेत्रमा पहुँच पु¥याउनका लागि जनगणनामा सहभागिता नै प्रमुख हतियारका रुपमा रहेको उनको भनाइ छ । यी मुद्दालाई निष्कर्षमा पु¥याउनका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर जनगणनाका कार्यक्रमलाई सफल बनाउनु रहेको उनले बताए । विसं २०७६ माघ २० गते सरकारले राना थारू समुदायलाई छुट्टै पहिचान दिई आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेको थियो। कैलाली र कञ्चनपुरमा तीन लाख ३० हजारभन्दा बढी राना थारू समुदायको जनसङ्ख्या रहेको बताइन्छ । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी