२०८१ मंसिर ९, आईतबार
कैलाली । कैलालीको जानकी गाउँपालिका–२ बडरियाका प्रयाकराज जोशी बुहारीको नागरिकता बनाउनका लागि दुई दिन इलाका प्रशासन कार्यालयमा धाइसक्दा पनि काम भएको छैन। वडा कार्यालयबाट नागरिकताको सिफारिस ल्याएर आएका ६५ वर्षीय उनलाई प्रशासनमा सेवाग्राहीको भिड छिचोल्न निकै मुस्किल भयो।
जोशीलाई पहिलो दिन प्रशासन बाहिरको भिड छिचोलेर नागरिकता फाँट पुग्दैमा समय सकियो भने आइतबार पनि उनको काम भएन। “बिहान ६ बजे आएर लाइनमा बसेको हुँ। पालो कुर्दै दिन बित्यो, पालो आएन।” उनले भने, “बाहिर बस्नका लागि ठाउँ छैन। शौच लागे शौचालय छैन। पिउने पानी छैन। आपत्मा काम गर्नुपर्ने बाध्यता छ।” जोशीले प्रशासन बाहिर सेवाग्राहीलाई प्रतीक्षाका लागि ठाउँ नहुँदा महिला, तथा ज्येष्ठ नागरिकलाई निकै सास्ती भएको बताए।
भजनी नगरपालिका–१ निवासी सुनिता रोकाया छ महिनाको बच्चालाई काखमा च्यापेर नागरिकता बनाउन शुक्रबार नै कार्यालय पुग्नुभएको थियो। शुक्रबार काम नभएपछि उनी त्यही बच्चालाई काखमा च्यापेर फेरी आइतबार बिहान ७ बजे कर्यालय पुगे। “एकातिर काम समयमा नहुँदा सास्ती छ भने, अर्को बच्चालाई स्तनपान गराउने ठाउँ पनि छैन। बच्चालाई दूध खुवाउन निकै अप्ठ्यारो भएको छ”, सुनिताले भनिन्, “तनावपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यता छ । प्रशासनमा काम प¥यो भनेपछि पहिलेदेखि नै चिन्ता लाग्छ।”
सोही वडा निवासी विमला विकको समस्या पनि त्यस्तै छ। उनी पनि आठ महिनाको छोरा बोकेर कार्यालय आएका थिए। प्रशासनले भजनी नगरपालिकाका सेवाग्राहीका लागि दुई दिन काम गर्छ। शुक्रबार र आइतबार मात्रै काम हुने भएपछि टाढाबाट सेवा लिन आउँदा निकै समस्या भएको उहाँको गुनासो थियो। विमलाले सबै काम वडा तहबाटै हुने भए पनि नागरिकताका लागि सेवाग्राहीले विगतदेखि नै भोग्नुपरेको सास्ती अन्त्य हुन नसकेको बताए। “खाना र पानी नभनेर प्रशासनमा पालो कुरेर बस्नुपर्ने बाध्यता छ। आसपासमा केही खानेकुरा पनि पाइँदैन बजार पुगेर केही खाएर आउँदासम्म काम हुँदैन कि भन्ने चिन्ता हुन्छ।” उनले भने, “सिंहदरबार गाउँगाउँमा आयो भन्छन्, हामी सेवाग्राहीका लागि त्यसको कुनै महसुस हुनसकेको छैन।”
सोही नगरपालिकाको वडा नं ३ का ७५ वर्षीय भागीराम महतो तिहार अघिदेखि नै प्रशासन धाउन थालेका हुन्। स्थानीय तहको संरचना भएपछि वडा नं ४ मा रहेको उनको घर अहिले वडा नं ३ मा परेको छ। नागरिकतामा वडाको ठेगाना सच्याउन प्रशासन पुगेका भागिरामको काम महिना दिन बितिसक्दा पनि भएको छैन। “तिहारपछि हुन्छ त्यसपछि आउनु भन्नुभएको थियो। अहिलेसम्म भएको छैन। म बुढो मान्छे पैदल भएर भजनीबाट टीकापुर पुग्न निकै कठिन छ।” उनले भने, “राति ३ बजे घरबाट हिँडेको थिए। खाना पानी केही खान पाएको छैन। काम पनि भएको छैन । भित्र कार्यालय पुग्न म बुढोको तागत पुग्दैन।” भगिरामले सधैँ आउने र केही नबुझेरै घर फर्किनुपरेको गुनासो गरे।
इलाका प्रशासन कार्यालयमा सेवा लिन आउने यी सेवाग्राही एक उदाहरण मात्रै हुन्। अधिकांश सेवाग्राहीको काम एकै दिनमा हुँदैन। प्रशासनले कोरोना कालमा लगाएको बारअनुसारको तालिका पनि अझै हटाएको छैन। कार्यालयका प्रशासकीय अधिकृत महेशबहादुर बमले कार्यालयमा कर्मचारीको दरबन्दी कम र सेवाग्राही धेरै भएपछि सेवा प्रवाहमा निकै समस्या भएको बताए। अहिले कार्यालयमा दुई नायब सुब्बा, एक खरिदार, एक अधिकृत, एक कम्प्युटर अपरेटर, तीन कार्यालय सहयोगी र एक उपसचिवको दरबन्दी छ। अहिले उपसचिवबाहेकका सबै फाँटमा कर्मचारी छन्। उनले सेवाग्राहीको भिडलाई कम गर्न अझ एक प्रशासकीय अधिकृत, एक नायब सुब्बा, एक खरिदार र एक कम्प्युटर अपरेटरको दरबन्दी थाप गर्नुपर्ने देखिएको बताए।
“सेवाग्राहीहरु कार्यालयमा राति ३ बजेदेखि नै आएर लाइन लागेका हुन्छन्। प्रशासनको भिडभाड सम्हाल्नै मुस्किल छ। कर्मचारी कम छौँ। सेवाग्राही धेरै छन्। त्यसमा पनि भाडामा कार्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा कार्यालय परिसरमा खाली ठाउँ छैन” प्रशासकीय अधिकृत बमले भने, “अहिले राष्ट्रिय परिचयपत्रका लागि नागरिकता बनाउन आउने सेवाग्राहीको अत्याधिक भिड भएको हो। नत्र नियन्त्रणभन्दा बाहिर जानेगरी यस्तो भिडभाड त हुँदैनथ्यो।” उनले शनिबार पनि शुक्रबारको बाँकी काम गर्नुपर्ने बाध्यता रहेको बताए। रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी