२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । दार्चुला सदरमुकाम खलंगाको पारी पट्टी भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण रोक्न नेपाल कम्युनिस्ट पार्टी विप्लवले दार्चुला प्रशासनको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्ला सचिव भरत मल्लले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको काम रोक्न अनुरोध गरेका छन् ।
पुरानो तटबन्ध संरचना भन्दा लगभग ८ मिटर वर भारतले नयाँ तटबन्ध बनाइरहेको छ । सीमा सम्बन्धी दुई देश बिचको सन्धि र सम्झौता तोड्दै भारतले सीमा नामा हैकम जमाउँदै अमानवीय घटना घटाइरहेको तथा अन्तर्राष्ट्रिय कानुनको समेत खिल्ली उडाइरहेको नेकपा विप्लवको आरोप छ । सचिव मल्लले भने, ‘भारतीय क्रियाकलापले हाम्रो मातृभूमि आक्रान्त बनेको छ, प्रत्येक राष्ट्रभक्त नेपालीलाई पिरोलिरहेको छ । भारतले हाम्रो सिमानामा हस्तक्षेप गरिरहेको टुलुटुलु हेरिरहने कि केही संघर्ष गर्ने ।’
राष्ट्रिय, सार्वभौमिकता तथा सीमानाको समस्या जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पुगोस् भनेर ध्यानाकर्षण पत्र बुझाएको उनले बताए ।
दार्चुला सदरमुकामको पारि पट्टी भारतले निर्माण गरिरहेको तटबन्धको विषय गृह मन्त्रालयलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । यस विषयमा भारतको पिथौरागढ जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदै पत्राचार गरिएको भए पनि जवाफ नआएको उनले बताएका छन् । केही हप्ताअघि भएको नेपाल भारत भर्चुअल सीमा बैठकमा महाकालीमा भारतले निर्माण गरिरहेको तटबन्धको विषयमा कुरा उठाएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी