२०८१ मंसिर १८, मंगलबार
महेन्द्रनगर:
दार्चुलाको मार्मा गाउँपालिकाले नियम विपरित, विनाकारण कर्मचारीको सरुवा गरेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ । बुधवार नेपाली काँग्रेस मार्मा गाउँपालिका सभापति धनन्जय जोशीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाको यस्तो कार्यप्रति खेद प्रकट गर्दै डेलिगेशन जाने निर्णय गरेको हो ।
गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट बसन्त खत्रीलाई फेसबुकमा स्टाटस लेखेकै भरमा विना सरसल्लाह सरुवा गरिएको भन्दै काँग्रेसले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम कुमार रानालाई डेलिगेशन दिने निर्णय गरेको सभापति धनन्जय जोशीले जानकारी दिए । गाउँपालिकाले खत्रीलाई सोमबार सितोला स्वास्थ्य चौकीमा सरुवा गरेको थियो ।
काँग्रेसले कर्मचारीको सरुवा बढुवा प्रकृयाका आधारमा हुने भन्दै गाउँपालिका अध्यक्षको ठाडो निर्देशनमा नहुनेतर्फ सचेत गराएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार रानासँग दुई दिन भित्र कार्यपालिका बैठक बोलाएर अध्यक्षसँग छलफल गरी जानकारी गराउने सहमति भएको काँग्रेसले बताएको छ । यहि फागुन २८ गतेसम्ममा पनि चित्त बुझ्दो जवाफ नदिए थप संघर्षका कार्यक्रम अघि सार्ने काँग्रेसले चेतावनी दिएको छ ।
खत्रीले सामाजिक सञ्जाल फेसबुकमा गाउँपालिका अध्यक्ष धामीलाई संकेत गर्दै ‘बेलुकापख केही पत्रकारहरुलाई बार्भट्टी पसलमा बोलाएर मेरो बारेमा यस्तो..समाचार बनाईदेउ भनेर भेटिसहित बिन्ती गर्दैमा विकास हुने भए प्रथम भइन्छ होला क्यार.,’ लेखेका थिए । उक्त स्टाटसकै कारणले गाउँपालिका अध्यक्षले आफ्नो सरुवा गरेको हेल्थ असिस्टेन्ट खत्रीले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी