२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुर जिल्लाको सदरमुकाम भीमदत्त नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर)को आलोचना हुन थालेको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित मेयर पदम बोगटी र उपमेयर निलम लेखक जोशीको नेतृत्वमा नगर क्षेत्रमा कुनै नयाँ काम हुन नसकेपछि नगरवासीले आलोचना थालेका हुन् ।
निवर्तमान मेयर सुरेन्द्र विष्टको पालामा सुरु भएका विकास परियोजनाको बाँकी काममा गुणस्तर काम गराउन समेत मेयर, उपमेयर असफल भएका पाइएको छ । महेन्द्रनगरमा सञ्चालित शहरी विकास परियोजनाको सडक, ढलनिकास निर्माण कार्यमा गुणस्तर कायम हुन नसकेको समाचारमा आइसकेको छ । निवर्तमान मेयर विष्टको पालामा थालिएका नगर चक्रपथ, अन्य कालोपत्रे सडकको निरन्तरतालाई पनि वर्तमान नेतृत्वले अगाडि बढाउन सकेको छैन ।
नगरपालिकाको नयाँ नेतृत्वको काम नदेखिएपछि स्थानीय अभियन्ता खेम भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हेलो भीमदत्त नगरपालिका ! ‘आर यू अलाइभ’ ? निन्द्राबाट ब्यूँझाउने काम हामीले नै गर्नुपर्ने हो कि क्या हो ?’ उनले नगरपालिकाको नेतृत्व निन्द्रामा सुतेको संकेत गरेका छन् ।
कार्यकारी अधिकारसहित संविधानले कल्पना गरेको भीमदत्त स्थानीय सरकार निरीह अवस्थामा देखिएको छ । मेयर, उपमेयरले नयाँ नेतृत्वको नयाँ योजना र रचनात्मक काम देखाउन सकेका छैनन्, साथै पुरानै कामलाई पनि पूर्णता दिन तदारुकता देखाएका छैनन् ।
नगरको काममा ध्यान नदिई नगर बाहिरका विभिन्न ठाउँमा पुगेर फोटो खिचाउँदै सामाजिक सञ्जालमा राख्ने गरेका छन् । भीमदत्त नगरपालिकाले नगर विकास समितिको जग्गामा बनेका घर तथा बजारलाई हटाउन पहल गर्नमा समय दिन नपाएको देखिन्छ ।
नगर क्षेत्रमा नक्सा पास विना नै सरकारी जग्गामै घरहरू बन्दा समेत स्थानीय सरकार रमितै बनेको छ । बजार क्षेत्रमा बनेका फूटपाथहरू स्थानीय पसलको सामान राख्नमा ठिक्क बनेका छन्, जसले गर्दा पैदल यात्रुलाई अप्ठ्यारो हुने गरेको छ । ठूला व्यापारीले फूटपाथ कब्जा गरेको नदेख्ने नगरपालिका गरीबले गुडाएका ठेलागाडा भन्ने देख्ने गर्छ । गरीबका ठेलागाडा सञ्चालनमा भीमदत्तका नगर प्रहरीले अवरोध गर्ने गर्छन् ।
नगरपालिका अगाडि बन्दै गरेको सडक क्षेत्रमा बिजुलीका पोलदेखि खानेपानीका पाइपहरू अस्तव्यस्त रूपमा छाडिएका छन् तर सरोकारवाला निकायको आँखा त्यसतर्फ पुगेको देखिँदैन ।
नगरपालिका क्षेत्रको बेथितिबारे सोध्दा उपमेयर निलम लेखक जोशीले धेरै कार्यक्रममा जानुपर्ने भएकाले केही नदेखिएको बताइन् । ‘उपमेयरको धेरै कार्यक्रम र जिम्मेवारी छन्, धेरै काम हुनाले केही नदेखिएको हुनसक्छ,’ उनले भनिन्, ‘हामीसित जनशक्तिको पनि कमी छ, केही काम कार्यान्वयन प्रक्रियामा छौं ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी