२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
कञ्चनपुरको बेदकोट नगरपालिका कार्यालय नजिकै पुलमुनि छाडा गाई व्यवस्थापनका लागि भन्दै थुनेर राखिएको छ । पूर्वपश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने जोसुकैले गाईको दूर्दशा र मृत्यु भइरहेको देख्न सक्छन् ।
सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै बेदकोट नगरपालिकाका नगर प्रमुख (मेयर) भोजराज बोहराले गाई व्यवस्थापनमा प्रत्येक दिन घटीमा २४ हजार रुपैयाँ खर्च हुने गरेको अभिव्यक्ति दिएका छन् ।
दैनिक २४ हजार खर्च हुँदा पनि दिनदिनै गाईहरू किन मरिरहेका छन् ? गम्भीर प्रश्न खडा भएको छ ।
गाईहरूले आवासका लागि छानो नपाउँदा, अत्यावश्यक आहारा नपाउँदा मर्नुपरिरहेको छर्लङ्ग देखिन्छ । दिनदिनै गाई मरेपछि त्यही नदी किनारमै खाल्डो खनेर पुर्ने गरिएको छ ।
नगरपालिकाका प्रवक्ता चित्रदेव भट्टले पनि दैनिक २४ हजार खर्च हुने गरेको अभिव्यक्तिलाई पुष्टि गर्न प्रयास गरे । उनले भने, ‘३ ट्रली पराल दिनको र ६ जना काम गर्ने छन्, दिनको ५०० रुपैयाँ काम गर्नेलाई दिनुपर्छ ।’
अहिले पराल नपाउँदा समस्या देखिएको उनले स्वीकारे । बेदकोट नगरपालिकाको बैतडामा गौशाला निर्माण गरेर गाईहरू सार्ने काम बिहीवार हुने उनले बताए । ‘गाईलाई बैतडा सारिने छ र त्यहाँ ५ बिघा जमिन छ । ३०० ट्रली पराल समेतको व्यवस्था गरिएको छ,’ उनले भने ।
छाडा पशुचौपाया नियन्त्रण नगरेको भन्दै नगरवासी आन्दोलित भएपछि नगरपालिकाले महिनौंसम्म नदी किनारमा पुलमुनि थुनेर राखेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी