२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय लेखा आयोगका सचिव प्रविण बोगटीले विकास–निर्माणका ठेक्का लिएर काम नगर्ने कामचोर कांग्रेसी ठेकेदारविरुद्ध धाँवा बोलेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सचिव बोगटीले नक्कली शरणार्थी प्रकरणमा छानबिन गरिरहेको सरकारले कामचोर ठेकेदारलाई कालोसूचीमा राख्नुपर्ने चुनौती दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नामै किटान गरेर उनले कांग्रेसका काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्न सुझाव दिएका छन् ।
नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद संस्थापक रहेको निर्माण कम्पनीले थुप्रै ठाउँमा विकास–निर्माण अलपत्र पारेको छ । ठेक्का सम्झौता गरी पेश्की लिएर ठेकेदार साउँद सम्पर्कविहीन हुने गरेका छन् । यस्तो बेला युवा नेता बोगटीले सरकारलाई चुनौती दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘प्रचण्ड नेतृत्वको कांग्रेससहित ८ दलीय गठबन्धन सरकारको अनुपम उपहार र लाचारीपनका कारण आज मुलुकमा चरम आर्थिक संकट र सस्थागत रूपमा भ्रष्टाचार बढिरहेको छ । विकास र समृद्धिका कदमहरू अगाडि बढाएर मुलुकमा देखिएको आर्थिक संकटलाई समाप्त पार्ने अभियान हामीबाट सुरु गरिनु जरुरी छ । आज शरणार्थी प्रकरणमा छानबिन भइरहँदा यो मुलुकको विकास निर्माण प्रक्रियालाई अलपत्र पारेर राज्यको विकासमा बाधा पुर्याउने निर्माण कम्पनीहरू, जसमा पनि सुदूरपश्चिमको ठूलो दलका जिल्ला सभापति तथा पूर्व मेयर समेत भइसकेका भीमबहादुर साउँदको निर्माण कम्पनीले सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न जिल्लाका विभिन्न स्थानमा निर्माण गरिने पुल, सडक, अस्पताल जस्ता विभिन्न निर्माण कार्यमा देखाएको गैरजिम्मेवारीपन र देशभरका विकास निर्माणमा अर्बाैं रकम पेश्की समेत लिइसकेको र काम नगरेको भन्ने सुनिन आएकाले तत्काल यस निर्माण कम्पनीलाई कालोसूचीमा हाली ठूलाबडा दलका सभापतिलाई कानूनी कारवाही गरिन्छ कि गरिँदैन ? वर्षाैंदेखि राज्यको सम्पत्ति कब्जा गरिरहेकोमा राज्यको रकम फिर्ता गराउनु राज्यको दायित्व हो कि होइन ?’
हुलाकी सडकको बेलडाँडी–दैजी सडकखण्ड निर्माण कार्य ठेक्का दिएको ३० महिनामा सक्नुपर्ने काम ७२ महिना बितिसक्दा पनि निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले जनता मात्रै होइन, सरकारलाई समेत ठगिरहेको छ, त्यो निर्माण कम्पनी हो – शर्मा राजेन्द्र जेभी, सञ्चालक हुन् कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद ।
यस्तै डोल्पा कांग्रेस सभापति तथा बाबाहंश सिद्धिकीशाहीका सञ्चालक दिपेन्द्रबहादुर शाहीले पनि ठेक्का दिएर म्याद थप्ने गर्ने तर काम नगर्ने प्रवृत्ति देखाएका छन् । यी ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्नुपर्ने सचिव बोगटीको माग छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी