२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
महेन्द्रनगर नगर विकास समितिमा भएको घोटालाको छानबिन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग गर्दै युवा नेता दिपेन्द्र ऐरीले आमरण अनसन गरिरहेका छन् ।
जेठ ७ गतेदेखि सुरु भएको अनसन लम्बिँदै जाँदा ऐरीको स्वास्थ्यमा असर देखिन थालेको छ । तर भीमदत्त नगरपालिकाका नगर प्रमुख (मेयर) पदम बोगटी मौन छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुरको ब्यानरमा भइरहेको अनसनमा नगर विकास समितिको जग्गामा भएका भ्रष्टाचारको छानबिन हुनुपर्ने माग गरिएको छ ।
नगर विकास समितिको रिजर्भ एरिया सहितको अर्बौं मूल्य पर्ने जग्गा अवैध लिजमा दिएको विषयमा स्थानीय प्रशासनले ४ वर्षअघि थालेको कारवाहीविरुद्ध लिजमा जग्गा लिएका केही व्यक्तिले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।
मुद्दाको हालसम्म फैसला हुन नसक्दा भीमदत्त नगर विकास समितिले अवैध रूपमा निर्माण गरिएका संरचना भत्काएर रिजर्भ एरिया खाली गर्न सकेको छैन । यसै बेला थप छानबिन गरी कारवाहीको माग गर्दै आमरण अनसन भइरहेको छ ।
भ्रष्टाचार विरुद्धका माग सुनुवाइ गर्न हालसम्म कुनै पहल नगरिएको र बिहीवार पाँचौं दिन मेयर, उपमेयर भेट्न मात्रै आएका ऐरीले बताए । ‘जिल्ला प्रशासनसित कुरा गर्छु भनी आश्वासन दिनुभएको छ,’ उनले भने ।
मेयर पदम बोगटीले आएर आज नै अनसन तोड्न भने पनि मागहरू सम्बोधन भएपछि मात्रै अनसन तोड्ने उनले बताए ।
नगर विकास समितिमा भएको भ्रष्टाचारबारे वर्षाैंदेखि छानबिनको माग हुँदै आएको छ । तर सरकारीस्तरबाट सन्तोषजनक कारवाही नहुँदा नगर विकासको मुद्दा समय–समयमा बल्झिने गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी