२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत बाल विकासका शिक्षिकाले १० महिनासम्मको तलब पाएका छैनन । भीमदत्त नगरपालिकामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षिकाले १० महिनासम्मको तलब नपाएका हुन । गत आर्थिक बर्ष ०७९÷०८० मा २ महिनाको मात्रै तलब पाएपछि उनीहरु आन्दोलित भएका छन ।
जिल्लाकै जेठो र धनी नगरपालिकामा कार्यरत बाल विकासका शिक्षिकाले तलब नपाएर सोमबारदेखि पालिका बिरुद्धमा आन्दोलित भएका छन ।
आर्थिक रुपमा सम्पन्न पालिकाले तलब दिन आनाकानी गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन ।
भीमदत्त नगरकी बाल विकास शिक्षिका लक्ष्मी पाण्डेयले शिक्षाको शुरुवाती बिन्दुमा कार्यरत बाल विकासका शिक्षकमाथि पालिकाले चरम बिभेद गरेको बताईंन । ‘पालिकाले बृद्धि भएको हाम्रो पारिश्रमिक दिएको छैन, ‘उनले भनिन, ‘आफुले काम गरेको पैशाका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता छ ।’ संघीय सरकारले बृद्धि गरेको रकम मध्ये पालिकाले गत बर्ष २ महिना बाहेक अन्य बाँकी महिनाको तलब नदिएपछि कार्यालय कार्यालयमा धर्ना शुरु गरिएको उनले बताईन । बाल विकास शिक्षक भीमदत्त नगरकी अध्यक्ष बिन्दु विष्टले बृद्धि गरिएको तलब माग्नका लागि पालिकामा पटक पटक अनुरोध गर्दा समेत नदिएपछि बाध्य भएर धर्नामा उत्रिएको बताईन । ‘हामीले काम गरेको र संघीय सरकारले घोषणा गरेको तलब नदिएपछी हामी पालिका बिरुद्धमा आन्दोलनमा उत्रिएका हौँ, ‘उनले भनिन, ‘पालिकाले हाम्रो तलब नदिएपछि अधिकारका लागि बाध्यताबस धर्नामा बसेका छौँ, माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्छौँ ।’ विगतमा पालिकासंग गरिएका सम्झौता पनि कार्यान्वयन नभएको उनले बताईन । चुनावका बेला शिक्षा सुधारदेखि न्यून पारिश्रममा काम गर्दै आएका बाल विकास शिक्षकको हक अधिकार दिलाउँछौँ भन्ने जनप्रतिनिधी चुनाव जितेपछि वास्ता नै नराख्ने भएपछि बाध्यता भएर आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन ।
जिल्लाका अन्य गरिब तथा आर्थिक रुपमा संकट परेका पालिकाले शिक्षा सुधारका लागि भन्दै बाल विकासका शिक्षकको बृद्धि भएको रकम निकासा गरेपनि भीमदत्त नगरपालिले वेवास्ता गरेको दुखेसो छ । संघीय सरकारले शिक्षामा दिने डल्लो बजेट तलबमा दिदा कर्मचारी र जनप्रतिनिधीलाई कमिसन नमिल्ने अन्यन्त्र योजना दिएर कमिसन लिने प्रवृति हावि भएकाले सम्पन्न पालिकाले निम्न स्तरका शिक्षकमाथि अन्याय गरेको दुखेसो पोखेका छन । बाल विकासका शिक्षकले संघीय सरकारले ल्याउन खोजेको शिक्षा ऐनमा समेत बाल विकासका शिक्षिकालाई वेवास्ता गरिएको भन्दै असन्तुष्ट जनाएका छन ।
भीमदत्त नगरपालिकाले बाल विकासका शिक्षकको तलब दिईने जनाएको छ । भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले गत आर्थिक बर्षमा निकास हुन बाँकी रहेको रकम खाता खुलेपछि वितरण गरिने बताए । ‘गत बर्ष आन्तरिक स्रोत अभाव हुँदा बाल विकासका शिक्षकले तलब दिन सकिएन, ‘प्रवक्ता खडकाले भने, ‘चालु बर्षमा पुरै दिन्छौँ, खाता खुलेपछि गत बर्षको बाँकी रहेको रकम पनि दिन्छौँ ।’ प्रवक्ता खडकाले आन्दोलन फिर्ता गर्न समेत आब्हान गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी