२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिकाले खोलाहरुमा अवैद्य रुपमा नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार गर्ने सवारी साधनलाई कारबाही गरेको छ। नगरपालिकाले वडा नं. ८ स्थित गौडी खोला र धारापानी खोलामा ढुंगा उत्खनन् तथा ओसारपसार गर्ने ४ वटा ट्याक्टरलाई जरिवाना गरेको हो। बुधबार गौडी खोलाबाट से १ त ७५१७ र से १ त २१७३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको थियो भने बिहीबार धारापानी खोलाबाट म १ त ११९१ र से १ त ४४१७ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएको थियो। नगरपालिकाले प्रति ट्याक्टरलाई १५ हजारका दरले कारबाही गरिएको नगर प्रमुख रणबहादुर महराले बताए। ‘नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा प्रतिबन्ध लगाएका छौं,’ उनले भने, ‘यस्ता कार्यमा संलग्नहरुलाई कारबाही गरेका छौं, सुदरपश्चिम प्रदेशको आर्थिक ऐन २०८० अनुसार कारबाही गरेका हौं।’ सुदूरपश्चिम प्रदेश आर्थिक ऐन अनुसार नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार गरेमा ट्याक्टरलाई १५ हजार, मिनी ट्रकलाई २० हजार, ट्रिप्पर वा ट्रकलाई ३० हजार र स्काभेटर वा व्याकलोडरलाई ५० हजार जरिवाना गर्ने व्यवस्था छ। सोही अनुसार नगरपालिकाले जरिवाना गरेको हो । नगरपालिकाले खोला तथा नदीहरुको ठेक्का लगाउने तयारी गरेको छ । ठेक्का नहुँदासम्मका लागि नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी