२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजारस्थित मदनचोकदेखि मञ्च गेटसम्मको सडक महिनौंदेखि अस्तव्यस्त छ ।
भीमदत्त नगरपालिकामा नगर प्रमुख (मेयर) पदम बोगटी र उपप्रमुख (उपमेयर) निलम लेखक जोशी निर्वाचित भएर आएपछि स्थानीयले सडकको स्तरोन्नतिका लागि पटक–पटक दबाब दिँदै आएका थिए तर मेयर, उपमेयरको निकम्मापनले सीमा नाघेपछि दबाबको नयाँ शैली अपनाइएको छ ।
भीमदत्त नगरपालिकामा केही हप्ताअघि भएको सार्वजनिक सुनुवाइमा पनि सडकको स्तरोन्नतिको कुरा उठेको थियो । तैपनि नगरपालिकाले कुनै चासो दिएको छैन । बजारको मुटुमै रहेको सडक महिनौंदेखि अस्तव्यस्त छ ।
सडक स्तरोन्नति नगरिएपछि स्थानीय युवाले दबाब बढाउन मदनचोक क्षेत्रलाई ‘ढुंगे बजार’ नामकरण गर्दै ब्यानर झुण्ड्याइएको छ । जुन ब्यानर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खुलामञ्चभित्र तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिता चलिरहँदा खेलाडी र सर्वसाधारण त्यहीँ बाटो भएर आवतजावत गरिरहन्छन् । तर नगरपालिकाले सडकका बेहाललाई निरन्तरता दिएको छ । स्थानीय युवाले ढुंगे बजार नामकरण गरेर सांकेतिक दबाब दिए पनि नगरपालिकाले बेवास्ता गर्दै आएको छ ।
भीमदत्त–४ का वडाध्यक्ष सुशील भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बजारस्थित २२ सटरको उचित व्यवस्थापन अन्तिम टुंगोमा पुगिसकेको जानकारी गराउँदै छिटोभन्दा छिटो सडक निर्माण हुने जनाएका छन् । साथै उनले निर्माण अवधिको असुविधाका लागि क्षमा मागेका छन् ।
सडकको बेवास्ताबारे उपमेयर लेखकले आफूलाई थाहा नभएको जानकारी दिँदै मेयरलाई सोध्न आग्रह गरिन् । मेयर बोगटीलाई प्रतिक्रियाका लागि उनले फोन काटिदिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी