२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
भारतमा ‘कराँतेको विश्व कप प्रतियोगिता’मा सहभागी हुन बोलाइएका खेलाडी अन्तिममा जानै पाएनन्।
सुदूरपश्चिमसहित देशभरका विभिन्न ठाउँबाट प्रतियोगितामा सहभागी हुन आएका २७ कराँते खेलाडी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमै रोकिएका छन्।
भारतको कोलकत्तामा विश्व कप प्रतियोगिता भइरहेको भन्दै जापान कराते दो कोसिकाइ सितोरियो संघ नेपालले खेलाडीलाई त्यसतर्फ लैजाने तयारी गरेको थियो।
त्यसका लागि संघले खेलाडीलाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बोलायो। तर अन्तिममा उनीहरु प्रतियोगितामा सहभागी हुन पाएका छैनन्।
भारतको कोलकत्तामा डिसेम्बर १७ र १८ तारिखमा प्रतियोगिता आयोजना भइरहेकोले सहभागिताका खेलाडीलाई बोलाइएको बैतडी जिल्लाका प्रमुख कराते प्रशिक्षक किरण बोहराले बताए। ‘वल्र्ड कपमा सहभागिताका लागि खेलाडीहरुलाई बोलाइयो, तर अन्तिममा आएर हामी प्रतियोगितामा जान पाएका छैनौं,’ उनले भने, ‘महेन्द्रनगरमै बस्नु परेको छ, कोही घर फर्किएका छन्।’
उनका अनुसार बैतडीका ११ जना खेलाडी प्रतियोगितामा सहभागी हुन जान मंसिर २७ गते घरबाट महेन्द्रनगर आएका थिए। मंसिर २९ गते बिहान ११ बजेतिर प्रतियोगितामा सहभागी हुन जाने प्रशिक्षक अभिसेक सिंहले भनेको थिए। तर प्रशिक्षकले विभिन्न बहाना बनाएर अन्तिममा त्यसतर्फ नलगेको खेलाडीको आरोप छ।
‘एक महिना अघिदेखि प्रतियोगिताको तयारी गर्यौं, गाडी भाडा तिरेर महेन्द्रनगर पनि पुग्यौं, कोलकत्ता जाने भनेको दिन बिहान ८ बजे सबै एक ठाउँमा भेटिने भनेका थियौं,’ बोहराले भने, ‘पछि गुरुलाई सम्पर्क गर्दा हार्ट अट्याकले आयोजक मर्यो भनियो, हामीलाई त्यहाँ लगिएन।’
उनका अनुसार प्रशिक्षकले खेलाडीहरुलाई जर्सी र ट्रयाक दिएर घर फर्किन भनेका थिए। चार दिनदेखि आफूहरु महेन्द्रनगरमा बसिरहेको उनले बताए। यसअवधिमा खान, बस्नमा आफ्नो ३५/४० हजार खर्च भइसकेको तर खेल खेल्न नपाउँदा नराम्रो लागेको उनले बताए।
प्रतियोगितामा सहभागीताका लागि बैतडीका ११, काठमाडौँका ३, बाराका १ र कैलालीका १२ गरेर २७ खेलाडी महेन्द्रनगर पुगेका थिए। उनीहरुमध्ये प्रतियोगितामा सहभागीताका लागि जान नपाएका केही बिहीबार नै घर फर्किसकेका छन्।
उता प्रशिक्षक अभिसेक सिंह आफूहरु आयोजक भारतीय पक्षबाट ठगिएको बताउँछन्। भारतीय पक्षले दुई महिना अगाडि विश्वकप प्रतियोगिता आयोजना भइरहेकोले खेलाडीको सहभागीताका लागि आफूहरुलाई भनेको उनले सुनाए।
‘विश्वकप प्रतियोगिता हो, आउन/जाने भाडा र बस्न व्यवस्था हुन्छ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिता उद्घाटन गर्ने भनेर मौखिक जानकारी गराइयो,’उनले भने, ‘खेलाडीको इन्ट्री फि पाँच हजार भारु लाग्छ भन्दैथिए, हामी त्यसपछि त्यहाँ जानका लागि तयार भएका थियौं।’
भारतीयहरुले प्रतियोगितालाई कमाइखाने भाडो बनाएको थाहा पाएपछि आफूहरु प्रतियोगितामा सहभागी नभएको उनको जिकिर छ।
‘मौखिम रुपमा मात्रै जानकारी गराइयो, बारम्बार लिखित पत्राचार गर्न भन्यौं, अन्तिममा आएर लिखित पत्राचार पनि गरायो,’ उनले भने, ‘अन्तिममा आएर उहाँहरुको आयोजक संघ कुनै अन्तराष्ट्रिय कमिटीभित्र नपर्ने कुरा थाहा पायौं।’
भारतको प्रख्यात स्टेडियममा प्रतियोगिता आयोजना हुने भनिए पनि अन्तिम समयमा त्यहाँको कुनै एउटा विद्यालयमा प्रतियोगिता भइरहेको सूचना पाएको उनले बताए।
‘अन्तिममा आएर आयोजकले खान, बस्न, यातायातको पैशा आफैले तिर्नु पर्ने भने, इन्ट्री फि पनि बढाएर १० हजार पुर्याए,’ उनले भने, ‘त्यसैले त्यहाँ गएर अलपत्र पर्ने देखिएपछि गएका हैनौँ।’
प्रतियोगितामा खेलाडीको इन्ट्री गर्नका लागि ५० हजार भारु पठाइसकेको उनले बताए। ‘आयोजकसँग मेरो कुरा भएको छ, इन्ट्रीको पैसा फिर्ता गर्छौ भनेका छन्,’ उनले भने।
भारतको कोलकत्ताबाट नारायण यादव नाम गरेका व्यक्तिले प्रतियोगिताबारे जानकारी गराएको प्रशिक्षक सिंहले बताए।
प्रतियोगितामा सहभागीताको लागि लिखित पत्राचार गर्ने संस्थाका बारेमा भने उनले केही खुलाएनन्।
आफूहरुले खेलाडीबाट कुनै शूल्क नउठाएको उनले बताए। सरकारबाट कुनै बजेट नपाएको बताउँदै उनले चन्दा उठाएर खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन खोजेको समेत बताए।
‘कोही खेलाडी अलपत्र परेका छैनन्, खानबस्न व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘कोही घर फर्किसके, कोही जाँदैछन्, खर्च नभए हामी टिकट काटेर पठाइदिन्छौं।’
तस्बिर :पश्चिमआज
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी