२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा शुक्रवार आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहलाई कांग्रेसीकरण गरिएपछि आलोचना गरिएको छ ।
मेयर भोजराज बोहराको नेतृत्वमा भएको समारोहमा कांग्रेसका नेताहरूलाई मात्रै सहभागी गराइएको छ ।
कार्यक्रममा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह थापा प्रमुख अतिथि र कांग्रेसबाटै निर्वाचित जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहरा अतिथि रहेका छन् । समारोहको अग्रपंक्तिमा कांग्रेसका नेताहरू मात्रै देखिन्छन् ।
नेकपा एमाले बेदकोट नगर कमिटी अध्यक्ष हरिश भाटले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बेदकोट नगरपालिकामा शुरूआत भएको रनिङ शिल्डको उद्घाटन समारोहमा राजनीति दल र पूर्व मेयरलाई समेत निम्ता नगरिनुलाई शुद्ध राजनीतिक आचरण कसरी मान्न सकिएला र ? खेलमा भाग लिनुहुने सबै खेलाडीहरूलाई सफलताको कामनासहित कार्यक्रमको सफलताको शुभकामना ।’
स्थानीय वीरेन्द्र महराले फेसबुकमा लेखेका छन्, ‘१३औं राष्ट्रपति रनिङ प्रतियोगिता २०७९ मा बेदकोट नपाका नगर प्रमुखले उद्घाटन समारोहमा कांग्रेसीकरण गरेको आभास भएको छ । प्रमुख अतिथि, विशिष्ट अतिथि सबै महेन्द्रनगर बजारबाट बोलाउनुको कारण के ? अग्रपंक्तिमा आसन ग्रहण गर्ने सबै भाग्यमानी कांग्रेसको मात्रै अनुहार हेर्न सकिन्छ । स्थानीय राजनीति दल, संस्थापन मेयर, उपमेयर, स्थानीय विशिष्ट व्यक्तित्व, लामो समयसम्म खेल मैदानमा जर्सी र जुत्ता फटाएका खेलाडी महानुभावहरूको आगमनमा निस्तेज नै गरी एकलौटी एवं एकलकाटे राजनीति गरेकोप्रति घोर आपत्ति प्रकट गर्नु उत्तम हुन्छ कि मेयर साप ?’
नेपाली कांग्रेस बेदकोट नगर कार्यसमिति सभापति तुलाराम शाहुले पनि राजनीतिक दललाई बेवास्ता गर्नु गलत भएको संकेत गरेका छन् । साहुले फेसबुकमा लेखेका छन्, ‘दलीय राजनीतिमा दललाई नै बेवास्ता ? सबैको महत्त्व राख्ने सार्वजनिक कार्यक्रममा त कम्तीमा दलीय प्रतिनिधिलाई निम्ता दिनुपर्छ नि भन्ने दलीय साथीहरूको गुनासो जो जायज हो, जस्तै आजको रनिङ शिल्ड प्रतियोगिता बेदकोट ।’
केही दिनअघि छाडा पशुचौपाया व्यवस्थापनका नाममा चुरे फेदमा लगेर फाल्दा केही गाई मरेपछि मेयर बोहराले सर्वदलीय बैठक बोलाएका थिए । अध्ययनका लागि सर्वदलीय समिति बनाएर गौहत्याको घटनालाई साम्य पारिएको थियो । आपत् पर्दा सर्वदलीय बोलाउने मेयरले सार्वजनिक समारोहमा कांग्रेस बाहेकका दलहरूलाई बिर्सिएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी