२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा अर्काे काण्ड भाइरल भएको छ ।
नगरपालिका कार्यालय नजिकै गौहत्या, कांग्रेसी ठेकेदारले ८५ लाख पेश्की लिएर काम नगरेको काण्डपछि अब नगर प्रवक्ता चित्रदेव भट्टको काण्ड भाइरल भएको छ ।
नगरपालिकाको सरकारी गाडी लिएर प्रवक्ता भट्ट बैतडी पुगेका छन् । उनले आफ्नै फेसबूकमा बैतडीको पाटन पुगेको फोटो सार्वजनिक गरेका छन् ।
बेदकोट नगरपालिकाको सरकारी गाडी लिएर प्रवक्ता भट्ट बैतडी पुगेको फोटो यतिबेला सामाजिक सञ्जाल फेसबूकमा भाइरल भइरहेको छ । भट्टको फोटो फेसबूकमा राख्दै कतिपयले उनको आलोचना गरिरहेका छन् । सरकारी गाडी व्यक्तिगत काममा दुरुपयोग गरेको भन्दै उनको आलोचना भइरहेको छ ।
प्रवक्ता भट्टले आफू सरकारी गाडी लिएर बैतडी पुगेको स्वीकारे । आज बैतडी आएको र भोलि नै फर्किने उनले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले प्रवक्ता भट्टको बचाउ गर्न खोजे । सुरुमा निजी मोटरसाइकलमै गएका हुनसक्ने तर्क गरेका अधिकृत भट्टले पछि अनुमति लिएर गएको कुरा गरे । कुराकानीका क्रममा उनी सरकारी गाडी दुरुपयोगको कार्यलाई बचाउने उपायतिर लागिरहेका थिए ।
नगरपालिकाका प्रमुख (मेयर) भोजराज बोहराले शुक्रवारका दिन बिदाबारे जानकारी भएको तर सरकारी गाडीको बारेमा केही थाहा नभएको बताए । सरकारी गाडी खुलेआम दुरुपयोग भइरहँदा मेयर बोहरा रमिते बनेका छन् ।
कांग्रेसी ठेकेदारले ८५ लाख रुपैयाँ पेश्की लिएर अस्पताल भवन निर्माणको काम नगरेको काण्डमा पनि मेयर बोहराको भूमिका नदेखिएपछि स्थानीय वासिन्दा आन्दोलित भएका छन् । छाडा पशुचौपाया नियन्त्रण गर्ने भन्दै पुलमुनि गाईहरूलाई थुनेर मृत्युको मुखमा पुर्याई गौहत्या गरिएको काण्डमा पनि मेयर बोहराको आलोचना भएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी