२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिंहपाल टोलका १८ वर्षीय सन्दीप थापा (सागर) कुटपिट प्रकरणमा अर्को पक्षले सन्दीपमाथी आक्रमण नगरेको दाबी गरेको छ । सन्दीपमाथी सामुहिक ज्यानमारा आक्रमणको आरोप लागेको कार्की पक्षले हतियार सहित सन्दीप १०/१५ जनाको समूहमा प्रज्वल कार्कीमाथि आक्रमण गर्न घरमा आएको बेला नियन्त्रणमा लिएर प्रहरी प्रशासनलाई बुझाएको दाबी गरेको हो ।
केही दिन अगाडि महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रज्वलकी आमा पशुपति कार्कीले छोरा माथि हतियार लिएर आक्रमण गर्न आएका सन्दीपलाई नियन्त्रणमा लिएर राखेको तर कुटपिट नगरेको स्पष्ट पारेकी थिइन । ‘राती साढे दश बजेतिर खाना खाएर सुतेका थियौँ । खुकुरी ल्याएर १०/१५ जनाको समूहमा आएका केटाहरुलाई छोरा (प्रज्वल)माथि आक्रमण गरेका थिए । छोरालाई मार्नै खोजेका थिए ।’ उनले भनिन्, ‘पछि छिमेकी गुहारेर सबै जना मिलेर सन्दीपलाई नियन्त्रणमा लियौँ । प्रहरी बुझाउन हामीले खुकुरी सहित सन्दीपलाई बाँधेर राखेका थियौँ । कुटपिट गरेनौँ ।’
उता सन्दीप थापाको परिवारले भने घरबाट ललाइफकाइ लगेर गाउँमै बाँधेर १०/१२ जनाको समूहले निर्घात कुटपिट गरेको उनका बाजे भीम बहादुर थापाले बताए । उनका अनुसार साउन १४ गते राती सन्दीपलाई सोही ठाउँका मुकुन्द जोशी लगायतको समूहले बाँधेर निर्घात कुटपिट गरेका थिए ।
‘टाउकोमा कुखुरी प्रहार गरेका छन् । शरीर भरी निलडाम, घाउ छन् । सन्दीपको अवस्था नाजुक छ ।’ भीम बहादुर थापाले भने, ‘टाउकोमा गम्भिर चोट लागको छ । शरीर भर आक्रमण भएकाले शरीर नै काम नगर्ने भएको छ ।’
उनले अगाडि भने, ‘प्रहरीलाई बुझाउन बाँधेर राखेको कुटपिट नगरेको भन्दैछन् । हाम्रो एउटै मात्र प्रश्न छ, नकुटेको भए त्यक्रो रत्ताम्य कसरी भए त ?’
सन्दीपको बेलडाँडी स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभए पछि राती नै धनगढी रेफर गरिएको थियो । धनगढीको माया मेट्रो अस्पतालमा उपचार पछि तीन दिन पछि उनी होसमा आएका थिए ।
‘अझै पनि राम्रोसंग बोल्न सक्दैनन् । सुतेको अवस्थामा बरबराउछन् । बाँधेर कुटेर मर्यो भनेर छाडेका रहेछन् ।’ उनले भने, ‘अहिले मेडिकेयर अस्पताल काठमाडौँ मा उपचार भइरहेको छ ।’
आफूसंगको रिसिबीका कारण नातीमाथी आक्रमण गरेको हुन सक्ने उनको दाबी छ । उता प्रज्वलकी आमा पशुपतिले भने रिसिबी बारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन् ।
भीम बहादुर थापा शुक्लाफाँटा मध्यवर्ती क्षेत्र कालिकिच उपभोक्ता समितिका अध्यक्ष हुन ।
सन्दीपलाई कुट्ने समूहका मुकुन्द गत वर्ष काठ तस्करीमा पक्राउ परेका थिए । काठ तस्करी गर्दा समातेको रिसले नातीमा माथि सुनियोजित ढङ्गले आक्रमण भएको उनको दाबी छ । ‘भीम बहादुरको नाती होइनस् भन्दै खुकुरी, पेचकस, रड, भञ्चरो लगायत हतियारले आक्रमण गरेको नातीले भनेका छन् ।’ उनले भने ।
सन्दीप काठमाडौँमा कक्षा १२ मा अध्ययन गर्छन । कोरोनाको दोस्रो लहर पछि भएको लकडाउन पनि उनी घर फर्किएका थिए ।
ईलाका प्रहरी कार्यालय बेलडाँडीले घटनाको अनुसन्धानमा लापरबाही गरेको सन्दीपको परिवारको आरोप छ । ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक रविन्द्र कठायतले घटना गाउँमै मिलाएर लुकाउन खोजेको परिवारको गुनासो छ । दुवै पक्षले घटनाको सत्य, तथ्य छानविन गरेर दोषी उपर कारबाहीको माग गरेका छन् ।
सन्दीपको आमा महेश्वरी देवी थापाले बेलडाँडी गाउँपालिका–२ का मुकुन्द जोशी, विरेन्द्र कार्की (प्रज्वल), किसन मडै, लोकेश भण्डारी, योगेश साउँद, दीपक शाही लगायतको नाममा ज्यान मार्ने उद्योगको मुद्दा दिएकी छन् ।
ईलाका प्रहरी कार्यालय बेलडाँडीका अनुसार दुवैतर्फबाट ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता भएकाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार घाइते सन्दीपको तर्फबाट गएको मुद्दामा ६ जना र अर्को पट्टीबाट आएको मुद्दामा २ जना पक्राउ परेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी