२०८१ मंसिर ७, शुक्रबार
काठमाडौं – इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीले मातहत क्षेत्रमा हुने गुण्डागर्दी, बालुवा तस्करी, गाँजा तथा लागूऔषधमा संलग्नहरू पक्राउ र निगरानी बढाएको छ । टिकापुर प्रहरीले गुण्डागर्दी र लागूऔषधको कारोबारीहरुलाई निमिट्यान्न पार्न खोजेपछि स्वार्थ समूहरुको होसहवास नै उडेको छ ।
केही महिना अघिमात्र टिकापुर प्रहरी इन्चार्जको रूपमा प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्धव सिंह भाटले कमाण्ड सम्हालेसँगै गुण्डागर्दीमा संलग्न, बालुवा तस्कर, लागू औषध र आपराधिक क्रियाकलापमा संलग्नहरूमाथि कारबाही तिब्र पारिएको हो ।
पछिल्लो केही समययता बढिरहेको गुण्डागर्दी र लागूऔषध दुर्व्यसनका घटनाले शान्ति सुरक्षालाई चुनौती दिइरहेको बेला टिकापुर प्रहरीको सक्रियताले अहिले कुनैपनि त्रास र भय सिर्जना नभएको स्थानीयहरुले बताएका छन् । डिएसपी भाटले कमाण्ड सम्हालेपछि यस क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी आएको स्थानीय पदम साउदले बताए ।
डिएसपी भाटले गत २५ माघदेखि टिकापुरको कमाण्ड सम्हालेका हुन् । भाटले कमाण्ड सम्हालेपछि हालसम्म लागूऔषधमा १८ वटा मुद्दा दर्ता भएको छ भने २६ जना पक्राउ परेको इप्रका टिकापुरले जनाएको छ । पक्राउ परेकाको साथबाट ४७.४३० ग्राम खैरो हेरोइन, ५० ग्राम ८०० मिलिग्राम चरेस र १ किलो २०० ग्राम गाजा समेत बरामद भएको छ ।
इप्रका टिकापुरका अनुसार डिएसपी भाटको कमाण्डपछि विभिन्न ४१ शीर्षकका मुद्दामा ५८ जना पक्राउ परेका छन् । टिकापुर आएपछि भाटको नेतृत्वमा भएको सबैभन्दा ठुलो अपरेसन भने ग्लोबल ओरियन्स नेपाल प्रा.लि. विरुद्धको हो । उक्त कम्पनीले टीकापुरमा सम्पर्क कार्यालय खोली करोडौँ रुपैयाँ उठाएको पाइएको थियो ।
यसैगरि भाटको नेतृत्वमा चलेको स्वीप अप्रेशनमा विभिन्न मितिमा टिकापुर नगरपालिकाको विभिन्न स्थानहरुबाट २५० लिटर अबैध घरेलु मदिरा र ३०० लिटर अबैध घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ फेला पारी बरामद गरि स्थानिय जनप्रतिनिधी, उद्योग वाणिज्य संघ टीकापुर, होटल व्यावसायी संघ कैलालीका प्रतिनिधी, बुद्धिजीवी, समाजसेवी र पत्रकार समेतको रोहवरमा नष्ट गरिएको थियो ।
यस्तै इप्रका टिकापुरले विभिन्न किसिमका अपराध गरेर फरार रहँदै आएका अभियुक्त तथा जिल्ला अदालतबाट सजाय पाएर फरार रहँदै आएका प्रतिवादीहरुलाई समेत पक्राउ गर्न सफल भएको छ । टिकापुरका स्थानीयको सहयोगका कारण काम गर्न सहज भएको डिएसपी भाट बताउँछन् ।
विभिन्न मुद्दामा फरार भनी तोकिएको प्रतिवादीहरुलाई पक्राउ गरि जरिवाना तथा कैद भुक्तान नगरेकाहरूको पनि खोजी र अनुसन्धान भइरहेको बताउँदै डिएसपी भाट भन्छन्, ‘फैसला कार्यान्वयन अदालतको जनआस्थासँग जोडिएको विषय हो । त्यसैले अदालतको फैसला कार्यान्वयनमा टिकापुर प्रहरी प्रतिबद्ध छ ।’
शान्ति सुरक्षाका निम्ति नागरिक पनि उत्तिकै जिम्मेवार रहने हुनाले नागरिक र प्रहरीको हातेमालोबाट नै समाज सुरक्षित राख्न सकिने डिएसपी भाट बताउँछन् । उनले भने, ‘त्यसैले हरदिन शान्ति सुरक्षामा केन्द्रित भएर सधैंभरी खटिरहनु हामी प्रहरीको जिम्मेवारी हो ।’
टिकापुर प्रहरीले लागूऔषध नियन्त्रण गर्ने अभियान नै चलाएपछि लागूऔषध सेवनकर्ता तथा बिक्री गर्ने स्थानहरुको समेत पहिचान गरिएको डिएसपी भाटले बताए । त्यस्ता स्थानहरुमा टिकापुर प्रहरीले निगरानी राखिरहेको छ । जसले गर्दा अहिले उक्त स्थानहरुमा लागूऔषध कारोबार बन्द नै रहेको प्रहरीको दाबी छ ।
गुण्डागर्दी र तस्करी रोकिएपछि स्वार्थ समूहको हायल–कायल
टिकापुर क्षेत्रमा हुने (लागूऔषध बिक्रीवितरण, ढुंगा, बालुवा गिटी तस्कर, गुण्डागर्दी) जस्ता आपराधिक क्रियाकलापलाई टिकापुर प्रहरीले नियन्त्रण गर्न खोजेपछि स्वार्थ समूहले डिएसपी भाटलाई नै नराम्रो बनाउन लागिपरेका छन् ।
राम्रो काम गर्दागर्दै पनि तस्कर र गुण्डागर्दीमा संलग्न व्यक्तिहरु हात धोएर आफूविरुद्ध लागेको डिएसपी भाटले बताए । उनले अनलाइनन्यूज७सँगको कुराकानीमा भने, ‘केहि अनलाइनमा आफ्नो व्यक्तिगत तथा व्यवसायिक जीवनमा समेत नकारात्मक प्रभाव पार्ने गरी झुठा विवरण समावेश गरी सुनियोजित रुपमा प्रकाशन गरिएको समाचारले दुःखित तुल्याएको छ ।’
उक्त समाचार सम्बन्धमा प्रकाशन गृहले समेत उल्लेखित विषयवस्तुको सत्य, तथ्य र वास्तविकता साथै स्रोतको परीक्षण समेत नगरी एकतर्फी रुपमा प्रकाशन गरेको हुँदा उनले आफ्नो आत्मसम्मान, इज्जत, प्रतिष्ठा साथै व्यवसायिक तथा सामाजिक जीवनमा समेत आँच आएको डिएसपी भाट बताउँछन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत चुनौती दिँदै डिएसपी भाटले आफुले कहिँकतै नराम्रो काम गरेको भए कारबाही गरेर देखाउन अपिल गरेका छन् । स्वार्थ समूहहरुले गुण्डागर्दी र तस्कर गर्न नपाएर आफूअनुकुलको मिडियामा मनगढन्ते समाचार लेख्न लगाएको भाटले बताए ।
आफूले गरेको काम मन नपरेपछि तस्कर र गुण्डागर्दी गर्न दिनपर्यो भन्दै शक्तिकेन्द्रमार्फत फोन गर्न लगाएको समेत डिएसपी भाटले सार्वजनिक गरेका छन् । उनीहरुको केही नचलेपछि अन्तिममा पीत पत्रकारिता गरेर रोटी सेक्ने अनलाइनमा मनगणन्ते कहानी लेखाएको उनले बताए ।
यस्तो छ डिएसपी भाटको फेसबुक स्ट्याटस
म टिकापुर आएपछि एउटा समूह जो कर्णाली नदीबाट अबैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा दोहन गर्ने, पशु हाट बजारबाट अवैध आर्जन गर्ने, र गुण्डागर्दी गरेर समाजमा आतंक सिर्जना गर्न नपाएर छटपटाएको छ र त्यसले पीत पत्रकारिता गरेर रोटी सेक्नेहरुलाई आहारा फालेर समाचार बनाएको रहेछ ।
साभार :अनलाईन न्यूज
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी