२०८१ माघ २३, बुधबार
महेन्द्रनगर । कैलालीको गेटामा ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ खोल्ने घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रिपरिषद् बैठकले नै गरेको थियो तर बजेटमा विश्वविद्यालय नभएर प्रतिष्ठान बनाउने गरी बजेट विनियोजन भयो ।
स्वास्थ्य विज्ञान विश्वविद्यालयको सपना बोकेका सुदूरपश्चिमवासी असन्तुष्ट बनेका छन् । स्थानीय स्तरमा गठित संघर्ष समितिले सरकारको बजेटविरुद्ध आन्दोलन नै गर्ने भएको छ । आन्दोलनमा जोडिएका छन् पूर्व सांसद डा. दिपकप्रकाश भट्ट ।
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय खोल्नुपर्ने विषयमा लामो समयदेखि प्राज्ञिक वकालत गर्दै आएका डा. भट्ट बुधवार गोदावरी नगरपालिकामा भएको भेलामा पनि सहभागी भए । सरकारले विश्वविद्यालय नबनाउने भएपछि संघर्ष समितिले बोलाएको सामाजिक संघसंस्था र नागरिकको भेलामा सहभागी भएर उनले विश्वविद्यालय स्थापनाको आवश्यकता, कानूनी पक्ष र सम्भावनाबारे जानकारी राखेका छन् ।
भेलाले विश्वविद्यालय स्थापनाका लागि दबाब दिन भोलि बिहीवार बिहान बिहान ९ बजेदेखि १० बजेसम्म कैलालीको अत्तरिया चोकमा १ घण्टा चक्काजाम गर्ने निर्णय गरेको छ ।
पूर्व सांसद डा. भट्टले सामाजिक सञ्जालमा भेलाका तस्वीर राख्दै लेखेका छन्, ‘अब अभियान होइन, संघर्ष ! कैलालीको गेटामा ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापनार्थ हाम्रो संघर्ष जारी छ । ६०० बेडको संरचना तयार भएको छ । राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयकको मस्यौदा तयार भएको छ । १०० बेडको अस्पताल र प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गर्ने काम पश्चगमन हो । राजनैतिक दलाल र मेडिकल माफियाका विरुद्ध अब सचेत हुनुपर्छ । सुदूरपश्चिमका सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अनुरोध !’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय