२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कोरोना महामारीका बेला सरकारले निर्माण गरेका होल्डिङ सेन्टरहरू प्रयोगविहीन बनेका छन् ।
संघीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारी र कैलालीमा निर्माण गरेको १/१ हजार बेडका होल्डिङ सेन्टर प्रयोगविहीन बनेका हुन् ।
कैलालीको गौरीफन्टामा रहेको ‘होल्डिङ सेन्टर’ भने धनगढी उपमहानगरपालिकाले प्रयोगमा ल्याउने तयारी गरेको छ ।
हजार बेड क्षमताका २० वटा ठूला बेड सहितका संरचना, ५० बेड क्षमताका २ संरचना, स्वास्थ्यकर्मीका लागि २२ वटा शौचालय र १५ भान्सा लगायतका संरचना निर्माण भइसकेका छन् । भीमदत्त नगरपालिकामा २९ करोड २५ लाख र २८ करोड ८१ लाख गरी २ चरणमा हनुमान कन्सट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको थियो ।
३ बिगाहा क्षेत्रफलमा निर्माण भएको स्थायी होल्डिङ सेन्टरको २२ वटा अलग–अलग ब्लग निर्माण भएका छन् । निर्माण भएका सबै ब्लगमा बाथरुम, भान्सा, डाइनिङ रुम लगायतको महत्त्वपूर्ण सेवासुविधासहित होल्डिङ सेन्टर निर्माण भएका छन् ।
महेन्द्रनगरका समाजसेवी मदन चन्द ‘होल्डिङ सेन्टर’ प्रयोगमा नआउनुमा नगरपालिका मुख्य दोषी रहेको बताउँछन् । ‘मेयर र अन्य जनप्रतिनिधिले हेर्नुपर्थ्यो, मेयरको चासोको विषय समेत देखिएन र चासो रहनुपर्थ्यो । यिनको लापरवाहीले राज्यको करोडौंको सम्पत्ति जीण हुँदै गएको छ ।’
भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले होल्डिङ सेन्टर भीमदत्त नगरपालिका मातहतमा नआएकाले प्रयोगमा आउन नसकेको दाबी गरे । उनले भने, ‘नेपाली सेनासँग समन्वय गरेर पालिकाले लिने र कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल गर्छाैं ।’
नेपाली सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुरका बाहिनीपति मनोज थापाले कोरोना महामारीका बेला बनेका संरचना रेखदेख गर्ने जिम्मेवारी मात्रै बाहिनीलाई भएको जानकारी दिए । ‘कोरोनाबाट पीडितको उपचारको सन्दर्भमा बनेको हो, यसको रेखदेख कसले गर्ने भन्ने कुरा आएपछि राज्यले नेपाली सेनालाई खाली अहिले रेखदेख गर्ने र सुरक्षा गर्ने भन्ने छ । रुख ढलेर क्षति पुग्यो,’ उनले भने । नेपाल सरकारले कुनै कार्यालयलाई बुझाउनु भनेमा बुझाउन तयार रहेको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी