२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर ।
सुदूरपश्चिममा शुक्रवारदेखि गौरा पर्व सुरु भएको छ । गौरा पर्व सुरु भए पनि कोरोना महामारीको त्रासले बिगतका वर्ष जस्तो चाडको चहलपहल भने यस वर्ष छैन् ।
कोरोना संक्रमण दिनहुँ बढ्दो क्रममा छ । संक्रमणको तेस्रो लहरको जोखिम कायमै रहेकाले प्रशासनले सामूहिक गरिने धार्मिक, सांस्कृतिक कार्यहरु बढिमा १० जनासम्म सहभागी भइ गर्न आदेश जारी गरेको छ ।
गौरा पर्वको पहिलो दिन शुक्रवार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् । पञ्चमीका दिनदेखि घर घरमा बिरुडा राखेर गौरा पर्व सुरु हुने भीमदत्त नगरपालिका–१८ की कृष्णा भट्टले बताइन ।
‘कोरोना महामारीले गर्दा यसपालीको गौरा पर्व खल्लो भएको छ । घरबाहिर मठमन्दिरमा भीडभाड छैन्,’ उनले भनिन्, ‘घरभित्रै परिवारका सदस्य मिलेर मनाउँदै छौँ ।’
घरको एक कोठामा गाईको गोबरले लिपेर तामापितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टिका र अक्षताले सिङ्गारेर धुपबत्तीबालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ ।
त्यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्चवनस्पति (धान, साँउ, तिल, बेल र पाती)को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गलगीतसँगै घरमा ल्याएर राख्ने गर्छन् ।
विवाहित महिलाले गौरा पर्वमा ब्रत बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्री जप गरी भोजन ग्रहण गर्ने प्रचलन छ । सप्तमीका दिन महिलाले दिनभर ब्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत रहेको भीमदत्त नगरपालिका–१८ कटानकी बसन्ती भट्टले बताइन् ।
सात गाँठो पारिएको दुर्वा सहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ । अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शीरमा राखी नाँच्ने गर्दछन् ।
यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गर्ने गरिन्थ्यो । यद्यपी कोरोना भाइरस (कोभिड–१९) को कारण यस वर्षको गौरा खल्लो भएको भीमदत्त नगरपालिकाका स्थानीय गीता भट्टले बताइन ।
‘गौराको अवसरमा देउडा खेलिन्थ्यो, तर यसपाली त्यो सब भएन । कोभिड–१९ बाट बच्न जनस्वास्थ्य सबै मापदण्ड अपनाएर घरमै पर्व मनाउने छौँ,’ उनले भनिन्, ‘बिगतका वर्षमा ठाउँ–ठाउँमा देउडा लागेर चाडवाड आए जस्तो हुन्थ्यो, यसपाली कोरोनाले सबै रोकिदिएको छ ।’
गौरा पूजा गरिसकेपछि झाँकीसहित पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गरिने उनको भनाइ छ । गौरा पर्वमा नयाँ कपडा लगाउनका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने गरिन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी