२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर ।
प्रमुख प्रतिपक्ष नेकपा एमाले विभाजन भए पछि केन्द्रदेखि स्थानीय तहसम्मै राजनीति प्रभावित भएको छ । फुट पछि एमालेबाट विजयी जनप्रतिनिधिहरु, नेता/कार्यकर्ता तितरवितर हुने क्रम जारी छ ।
माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे पछि एमालेबाट विजयी स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यहरु पनि आफ्नो कित्ता क्लियर गर्न थालेका छन् ।
९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटा स्थानीय तहमा प्रमुख र ७ वटा स्थानीय तहमा उपप्रमुख जितेको थियो । तीमध्ये अधिकाँस प्रमुख र उपप्रमुख नेकपा एमालेको फुटको विपक्षमा उभिएका छन् । माधव कुमार नेपालले कञ्चनपुरमा एक स्थानीय तहको प्रमुखको मात्रै साथ पाएका छन् ।
कञ्चनपुरमा माओवादी केन्द्रले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । माओवादी केन्द्रका पोतीलाल चौधरी बेलौरी नगरपालिकाको मेयर, मदनसेन बडायक लालझाँडी गाउँपालिकाको अध्यक्ष र सत्यदेवी महरा उपाध्यक्षमा जितेका थिए ।
यस्तै नेपाली कांग्रेसले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । कांग्रेसका बिरबहादुर सुनार दोधारा–चाँदनी नगरपालिकाको प्रमुख, सुशिला चन्द सिंह भीमदत्त नगरपालिकाको उपप्रमुख र दिल बहादुर ऐर शुक्लाफाँटा नगरपालिकाका प्रमुखमा बिजयी भएका थिए ।
भीमदत्त नगरपालिका
कञ्चनपुरको सदरमुकामको नगरपालिका हो, भीमदत्त । जिल्लाको सबैभन्दा ठूलो भीमदत्त नगरपालिकाको प्रमुख (मेयर)मा नेकपा एमालेका सुरेन्द्र बिष्ट विजयी भएका थिए ।
उनी एमालको संस्थापनमै छन् । वि.स.२०७५ जेठ २ गते पूर्वको एमाले कञ्चनपुरको जिल्ला कमिटीमा उनी सचिव थिए । बिष्ट बिगतमा एमालेको माधव समूह निकट थिए ।
गत पुस ५ मा पहिलो पटक संसद विघटन पछि तत्कालीन नेकपाको ध्रुविकरणमा उनी ओलीको पक्षमा खुलेका थिए ।
बेदकोट नगरपालिका
बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्द र उपमेयर सुशिला सिंह एमालेमै रहेका छन् । मेयर र उपमेयर दुवै जना नेपाल समूहका हुन । तर उनीहरुले एमाले फुटमा माधव कुमार नेपालको साथ छोडेका छन् ।
केही दिन अगाडि मेयर चन्दले नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको बैठक राखेर सबै एमालेमै रहने घोषणा गरेका थिए ।
केन्द्रमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न अगाडि बढ्ने मेयर चन्दको प्रस्तावमा एमालेका नगरका जनप्रतिनिधिले सहमति जनाएका थिए ।
१० वटा वडा रहेको बेदकोट नगरपालिकाका ८ वटा वडामा एमालेले अध्यक्ष जितेको थियो ।
कृष्णपुर नगरपालिका
कृष्णपुर नगरपालिकाका मेयर र उपमेयर दुवै जना एमालेमै छन् । मेयर कर्ण बहादुर हमाल र उपमेयर रमिता राना दुवै जना एमालेको तत्कालीन नेपाल समूहमा थिए ।
मेयर हमालले गत पुस ५ गते पछि तत्कालीन नेकपा देखिएको धुव्रिकरणमा नेपालको साथ छोडेका थिए ।
सूर्य चुनाव चिन्हमा चुनाव जित्ने सम्पूर्ण जनप्रतिनिधि एमालेमै रहेको मेयर हमाल बताउँछन् । कृष्णपुर नगरपालिकाका ३ वडामा एमालेले अध्यक्ष जितेको थियो ।
पुनर्वास नगरपालिका
कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर जीवन थापा नेकपा एकीकृत समाजवादीतर्फ खुलेका छन् । उपमेयर शारदा विष्ट भने एमालेमै रहेकी छन् ।
मेयर थापा र उपमेयर विष्ट दुवै नेपाल समूहमै थिए । तर एमाले फुटमा उपमेयर विष्टले नेपाल समूहको साथ छोडेकी हुन ।
पुनर्वास नगरपालिकामा एमाले कमजोर देखिएको छ । एमालेबाट विजयी अधिकाँस जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा आफूसंगै रहेको मेयर थापा बताउँछन् ।
‘नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधिको साथ हामीलाई छ । ५ वटा वडामा वडाध्यक्ष जितेका थियौँँ ।’ उनले भने, ‘वडाध्यक्ष, सदस्य सबै हाम्रै लाइनमा हुनुहुन्छ ।’
बेलडाँडी गाउँपालिका
बेलडाँडी गाउँपालिकामा माधव नेपाल कमजोर देखिएका छन् । गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्री र उपाध्यक्ष कमला देवी कार्की दुवै जना एमालै छन् ।
नेकपा एकीकृत समाजवादीमा एमालेको कोही जनप्रतिनिधि नगएको गाउँपालिका अध्यक्ष धन बहादुर थापाको दाबी छ । ५ वटा वडा रहेको बेलडाँडी गाउँपालिकामा ४ वडामा एमालेले जितेको थियो ।
बेलौरी नगरपालिका
बेलौरी नगरपालिकाकी उपमेयर चित्र कुमारी चौधरी एमालेमै छिन् । नेपाल समूहकी उनले पनि एमाले फुटमा माधव कुमार नेपालको साथ छोडेकी हुन ।
दोधारा–चाँदनी र शुक्लाफाँटा नगरपालिका
दोधारा–चाँदनी नगरपालिकाको उपमेयरमा एमालेकी चिनी गिरी विजयी भएकी थिइन ।
उनी नेपाल निकट मानिन्छिन् । यद्यपी एमाले फुटमा भने गिरी अहिलेसम्म कतै खुलेकी छैनन् ।
उता शुक्लाफाँटा नगरपालिकाकी उपमेयर तुलसीदेवी हमाल पनि एमालेमै छिन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी