२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर: बझाङमा चैनपुर सेती जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ । २ सय १० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनाको ४ वर्षदेखि सम्भाव्यता अध्ययन भइरहेको यो आयोजनाको प्रारम्भिक अध्ययनको काम सकेर दोस्रो चरणको अध्ययनको काम भइरहेको हो ।
महत्वाकांक्षी आयोजनाका रूपमा अघि सारिएको यो आयोजना साइपाल गाउँपालिकाको काँडामा ड्याम बाँधेर तलकोट गाउँपालिकाको बस्तीमा निर्माण हुने आयोजना प्रमुख अनिलभक्त श्रेष्ठले जानकारी दिएका छन् । जनताको जलविद्युत् कार्यक्रममा अन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने उनले बताए ।
सुख्खा याममा समेत दैनिक कम्तिमा ६ घण्टा २ सय १० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने आकर्षक आयोजनाका रूपमा यसलाई अगाडि बढाउन लागिएको उनको भनाइ छ । निमार्ण कार्य सुरु गरेको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनामा बैंकको ब्याज बाहेक ३६ अर्ब ५४ करोड लागत अनुमान गरिएको छ । आयोजनाको बाँध क्षेत्रमा बस्ती नभएको र पावर हाउस बन्ने ठाँउमा पातलो बस्ती भएका कारण पनि स्थानीयको २३० रोपनी निजी जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्ने आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।
नेपाल विद्युत् प्रधिकरणले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएसँगै बझाङमा निर्माण हुने यो जलविद्युत् आयोजनाको काम अघि बढ्ने भएको हो ।
आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माण गरिन लागिएको हो । त्यसका लागि टेण्डर कागजपत्र तयार पार्ने, पहुँच सडक निर्माण, जग्गा अधिग्रहण लगायतका काम सुरु भइरहेको छ ।
यो आयोजनाको १३ किलोमिटर लामो सुरुङमार्ग पनि रहेको छ । आयोजना प्रमुख अनिल भक्त श्रेष्ठका अनुसार अहिले सम्मको अध्ययनअनुसार अरु आयोजनाका तुलनामा कम लागतमा उच्च प्रतिफल दिने आयोजनाका रूपमा यसलाई हेरिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी