२०८१ मंसिर ८, शनिबार
बाजुरा । नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरे पनि हलिया परिवारहरु पुनःस्थापनाको पर्खाइमा रहेका छन् । परिचयपत्र पाएका मुक्त हलियाको पुनःस्थापना अन्तिम चरणमा पुगेको बेला पछिल्लो समय उनीहरूलाई पुनःस्थापना गराइसक्ने काम अलपत्र भएको मुक्त हलिया समाज बाजुराका अध्यक्ष सार्कीले बताए ।
सुरुको दुई आर्थिक वर्षसम्म स्थानीय तहमा आर्थिक वर्षको जेठ मसान्ततिर बजेट आउँदा पुनःस्थापनाको कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। उनले चालु आर्थिक वर्षमा मुक्त हलिया पुनःस्थापनाका लागि नेपाल सरकारले बजेटसमेत विनियोजन नगरेको बताए। हलिया मुक्तिको घोषणापछि सुरुआती समयमा सरकारले १९ हजार ५९ मुक्त हलियाको तथ्याङ्क सङ्कलन गरेको थियो ।
आव २०६८÷६९ मा सरकारले पुनः प्रमाणीकरण गरेर सो तथ्याङ्कलाई १६ हजार ९५३ मा झारेको थियो। बाह्र वटै जिल्लाका गरेर १४ हजार २४२ मुक्त हलिया परिवारलाई परिचयपत्र प्रदान गरिएको छ। एक हजार ८३८ परिवारले (क) वर्ग, तीन हजार ६६३ परिवारले (ख) वर्ग, एक हजार १७२ परिवारले (ग) वर्ग र सात हजार ५६९ परिवारले (घ) वर्गको परिचयपत्र पाएका छन्। परिचयपत्र पाएकामध्ये १३ हजार ५४६ परिवारको पुनःस्थापना भएको छ ।
दुई हजार ३४२ परिवारको जग्गा खरिद र घर निर्माण गरिएको छ। एक हजार ९९६ परिवारको घर मात्र निर्माण भएको, ८०३ परिवारको जग्गा मात्र खरिद भएको र आठ हजार २१९ परिवारको घर मर्मत भएको मुक्त हलिया महासङ्घको तथ्याङ्कमा छ ।
मुक्त हलिया अझै पनि दुई हजार ७११ परिवारको पुनःस्थापना हुन बाँकी छ। नेपाल सरकारको तथ्याङ्कमा भने ७११ परिवारको मात्रै पुनःस्थापना हुन बाँकी रहेको छ। हाल एक हजार ४४९ घरधुरीको प्रमाणीकरण हुन बाँकी रहेको र प्रमाणीकरण भएर पनि ४४१ परिवारले परिचयपत्र प्राप्त गर्न बाँकी रहेको छ। प्रमाणीकरण हुन बाँकी रहेका हलिया परिवार दुईवटै प्रदेशको १२ वटै जिल्लामा रहेका छन् ।
प्रमाणीकरण भए पनि परिचयपत्र पाउन बाँकी परिवार दार्चुलामा २५, बैतडीमा १३९, बझाङमा७९, बाजुरामा १४२ र डोटीमा ५६ परिवार रहेका छन्। अझै एक हजार ४९९ परिवारको प्रमाणीकरण गर्न बाँकी रहेको महासङ्घले जनाएको छ। मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको बेला देशैभरि हलियाले आन्दोलन चर्काएका थिए । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी