२०८१ मंसिर ८, शनिबार
दार्चुला । दुहुँ गाउँपालिका–२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौँ मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन् । भदौ १३ गते राति आएको बाढीपहिराका कारण पूरै घरखेत बगाएपछि विद्यालयको भवनमा आश्रय लिएका हुन् । गाउँपालिकाले उनीसँगै नारुली बस्तीका १७ परिवार विद्यालयमा राखेको छ ।
गाउँमाथिबाट आएको बाढीपहिरामा परी नारुली, बतकोली, सिमारलगायत बस्तीमा सबैभन्दा बढी घर भत्किएका छन् भने सुत्खोला, अफरेलिखालगायत बस्ती पनि पहिराको उच्च जोखिममा छन् । यहाँका झण्डै १०० घरधुरी बाढीपहिराबाट प्रभावित बनेका छन् ।
“पहिराले घर भासिने क्रम अझै रोकिएको छैन। घर धुजाधुजा बनेका छन् । खेत पूरै दरार भएका छन् । साउन १४ गते नेपाली सेनाको हेलिकोप्टर मार्फत ८० थान त्रिपाल आएको थियो, त्रिपालमा कहाँ टाँग्नु”, पुरनले भने, “त्रिपाल टाँग्ने जमिन त सुरक्षित हुनुप¥यो नि ?”
“बाढीपहिरो आएको भोलि पल्टसम्म जमिन भासिएको थिएन, घर सुरक्षित नै थिए, तर अहिले दिनहुँ घर भत्किरहेका छन् भने जमिन पूरै भासिँदै गएको छ । यो ठाउँमा बस्न सकिने अवस्था कहीँ पनि छैन् । हाम्रो सुरक्षित स्थानान्तरणका लागि पहल हुनुपर्छ”, उनले भने ।
उडालु, गोकुलगाड, सिमारखोला, दुनदुमखोला, घट्टेखोला मिसिएर कालागाड खोला बनेको छ । सबै खोलामा एकसाथ पानी जम्मा हुँदै बाढीको रूप लिएको हो। राति ९ बजेदेखि पानी पर्न थाल्यो, रातिको १२–१ बजेपछि खोला बढेर कटान सुरु गरेको धनसिंह डडालले बताए । उनका अनुसार एक्कासी ठूलो आवाज आयो, खोलामा गाडाङगुडुङ आवाज सुनियो ।
बिहान हुँदै जाँदा सबै ठाउँमा पहिरो देखियो । उनले भने, “अहिले विद्यालयमा बस्दा खानबस्न मिलेकै छ । तर कति दिन विद्यालयमा बस्नु। विद्यालय खोल्ने तयारी हुँदैछ । हामीलाई चाँडो सुरक्षित स्थानमा बस्ने वातावरण मिलाइनु पर्छ ।”
बाढी पहिराबाट प्रभावित भएकाले प्रमुख जिल्ला अधिकारी सिद्वाराज जोशी लगायतको टोली गाउँ पुग्दा आफूहरूको सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरेका छन ् । “हामीहरू विद्यालय भवनमा कति दिन बसौँ तीन तहको सरकारले हाम्रो व्यवस्थापन गर्न माग गर्छौँ”, पुरन साहुले भने, “जनप्रतिनिधि आएकै छैन, सङ्घीय सरकारका प्रतिनिधि आएकै छैन् । हाम्रो एउटै माग हो सुरक्षित ठाउँमा राखिदिनुस् ।”
प्रजिअ जोशी दुहुँमा अकल्पनीय बाढीपहिराले क्षति गरेको बताउँछन् । उनले बाढीपहिराको स्थलगत निरीक्षण पछि भने, “खोलामा बाढी आएको छ, तर डाँडाकाँडामा रहेका घर भत्किरहेका छन् ।” उनका अनुसार अहिले पनि घर भत्किने र जमिन भासिने क्रम यथावत छ । बस्तीमाथिका डाँडा पूरै दरार बनेका छन् ।
“मलाई लाग्छ, यो क्षेत्रमा खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले अनुसन्धान गर्नुपर्छ”, प्रजिअ जोशी भन्छन्, “यहाँको पूरै बस्ती तराईको कुनै ठाउँ राख्नुपर्छ । यसको लागि सङ्घ र प्रदेशले भूमिका खेल्नुपर्छ । पहिरो हेर्नै नसकिने अवस्थाको छ । हामीले तत्काल बैठक बोलाएर आवश्यक जानकारी पठाउँछौँ ।” रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी