२०८१ मंसिर ९, आईतबार
डोटी :
जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो । बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक आइतबार जोडिएपछि यहाँका नागरिकमा निकै खुसीयाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरुपमा निर्माण गरेका थिए । विसं २०४३ देखि सडक निर्माण सुरुआत भएको बताइएको छ । बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलले भने, “वर्षौं पछि सडकको ट्र्याक जोडिएको छ, अब हामीले पनि घरैमा गाडी चढ्न पाउने भए, योभन्दा अरू खुसी के नै होला र ।” बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले अगामी दिनमा सडकको स्तरोन्नतिका लागि गाउँपालिकाले लगानी गर्ने बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास योजना ताकिएकै समयमा निर्माण सम्पन्न गर्न पटक पटक निर्देशन दिए ।सो गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले भने, “मुख्यमन्त्रीज्यूले पनि तोकिएको समयमा काम नसके कारबाही गर्ने निर्देशन दिनुभयो, हामीले पनि पालिकाको तर्फबाट आवश्यक सहयोगसहित अनुगमनलाई तीव्र बनाएपछि काम सम्पन्न भएको हो । ” प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको सहजपुर–बोगटान सडकको ट्र्याक जोडिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । “कच्ची ट्र्याक जोडिएको छ, अब कालोपत्रेका लागि पहल गर्नुपर्छ ।” उनले भने । कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकलाई आवागमनमा सहज भएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी