२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
शुक्लाफाँटा नगरपालिका– ३ का यज्ञराज गौतम आधुनिक तरिकाले तरकारी खेतीमा संलग्न छन् । तीन वर्षदेखि उनले व्यावसायिक रुपमा तरकारीखेती गरी गतिलो आम्दानी गर्न सफल भएका छन् । बारीमा उत्पादित तरकारी बेचेर उनले वार्षिक रुपमा तीन लाख बढी आम्दानी गर्दै आएका छन्। “परम्परागत तरिकाले विगतमा तरकारीखेती गर्दा मुस्किलले वर्षमा ५० हजारदेखि ६० हजार मात्रै आम्दानी हुन्थ्यो” उनले भने, “आधुनिक तरिकाले तरकारीखेती गरी बढी उत्पादन लिनका लागि तालिम पाए। तालिममा सिकेका कुरा व्यवहारमा उतार्न थाले । उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा चार गुणाले बढेको छ ।” मुख्यमन्त्री नमूना कृषि गाउँ तरकारीखेती कार्यक्रममा आवद्ध भएपछि उहाँले तालिमसँगै अनुदानमा थोपा सिँचाइ सहितको प्लाष्टिक टनेल, पावर टिलर, सिँचाइका लागि पम्पसेट पाएका छन् । तरकारी खेतीका लागि आधुनिक तौर तरिकासँगै कृषि औँजार र उपकरण पाएपछि उनी व्यावसायिक खेतीलाई अगाडि बढाउन हौसिएका छन् । एक बिघा जग्गामा गौतमले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउएका छन्। मुख्यमन्त्री नमूना कृषि गाउँ तरकारी खेती कार्यक्रममा आवद्ध एक सय जना किसानमध्ये ६० जनाले व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएका छन्। अन्य किसान मौसमी तरकारी खेतीमा संलग्न छन् । तरकारी खेतीमै संलग्न विनोद चौधरीको वार्षिक कमाइ रु दुई लाख जति हुने गरेको छ। तरकारी बजारमा बेचेर उनले आम्दानी गर्दै आएका छन्। “तरकारीखेती गर्नुअघि परम्परागत रुपमा लगाइने अन्नबालीमा निर्भर थियौं” उनले भने, “त्यसबाट सात जनाको परिवारको खर्च चलाउन निकै धौधौ थियो। व्यावसायिक तरकारी खेतीमा संलग्न भएपछि अनुभव बटुल्दै जाँदा आम्दानी पनि चाहेअनुरुप हुँदै गएको छ ।” तरकारी खेतीबाट आएको पैसाले घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च चलाउन सहज भएको उनले बताए। बचेको पैसा बैंक र गाउँको सहकारीमा उनले बचत गर्दै आएका छन् । खेतमा उत्पादित तरकारी किसानले बेच्नका लागि बजार चहार्दै हिँड्नुसमेत पर्दैन। “बारीमा लगाइएको तरकारी बेच्नका लागि तयार भएपछि किसानले फोनमार्फत नै व्यापारीलाई फोन गर्छन्” कृषि प्राविधिक चेतराज चौधरीले भने, “व्यवसायीले बजारमा चलनचल्तीको दररेटमै बारीबाट तरकारी खरिद गरी लैजाने गरेका छन्।” केही तरकारी गाउँमै बिक्री हुने गरेको छ । किसानले करेला, रामतोरिया, खुर्सानी, लौका, काँक्रा, काउली, बोडी, बन्दागोभी, भाण्टा, भेडे खुर्सानीलगायत लगाउने गरेका छन्। सुदूरपश्चिम सरकारले आव २०७६÷७७ देखि लागू गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ तरकारीखेती कार्यक्रममार्फत पिपलाडी र जोनापुर गाउँका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई एक करोड बढीका कृषि आंैजार, उपकरण, सिँचाइका लागि पम्पसेट, बीउबिजन, पौष्टिकतत्व, उर्वरक, स्प्रे टङ्की, प्लाष्टिक टनेल उपलव्ध गराएको छ । यीमध्ये थोपा सिँचाइ सहितको प्लाष्टिक टनेलमा तरकारीखेती गर्ने किसानको सङ्ख्या २७ छ कृषि उपजको आन्तरिक मागपूर्ति गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि सुदूरपश्चिम सरकारले कार्यक्रम सञ्चालन गरेको हो । कृषि पूर्वाधार, बीउबिजन, सिँचाइ, ढुवानी, कृषि उपज सङ्कलन केन्द्र र बजार प्रवद्र्धन लगायतका कार्य सहज बनाउनुका साथै किसानको क्षमता विकास, एकीकृत घुम्ती प्रयोगशाला सेवा, उत्पादन सामग्री सहयोग, कृषि यान्त्रिकरणमा सहयोग, प्रशोधन तथा बजारिकरण पूर्वाधारमा सहयोग, साना सिँचाइ निर्माण तथा मर्मतसम्भार र बजारीकरणमा सहयोग पु¥याउने कार्यक्रमको लक्ष्य रहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्लले बताए । उनका अनुसार ३० बिघा जग्गामा तरकारी खेती हुने गरेको छ । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी