२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
गत आइतबार बेलुका खड्के बुढाको मोबाइलमा म्यासेज बज्यो। त्यो म्यासेजमा जलमापन केन्द्र डडेल्धुरा परिगाउँको थियो। म्यासेजमा महाकाली नदीले खतराको संकेत पार गरेको सूचना थियो।
५२ वर्षीय बुढा कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकबर बस्तीमा बस्छन्। भारतसँग जोडिएको यो बस्तीलाई महाकाली नदी र जोगबुढा नदीले घेरेको छ।
परिगाउँमा महाकाली नदीले खतराको तह पार गरेको सूचनाले उनीहरुलाई झनै तनाव थप्यो। र, बाढीको पूर्व तयारीमा पनि जुटे।
बुढाले किस्ती (डुङ्गा) महाकाली नदी छेउमै बाँधे। बाढी गाउँ पस्यो भने उद्धार गर्न हुन्छ भनेर उनले निजी किस्ती बनाएका छन्।
पानी बढ्ने सूचनाले उनले किस्तीको डोरी रुखको धेरै माथी बाँधेका थिए। यदी पानी बढेर किस्ती डुबे पनि डोरीको सहायताले पत्ता लागोस् भनेर।
त्यसपछि उनी घरमा फर्के र खाना खाएर सुते। बाहिर पानी परिरहेकै थियो। कतिखेर गाउँमा बाढी पस्छ भन्ने चिन्ताले उनको निन्द्रा नै उडाएको थियो।
ठ्याक्क मध्यराति १ बजे नैनसिंह कार्कीले बुढालाई फोन गरे। र, भने– ‘कान्छा बा!, पानी त बढ्यो।’
नैनसिंहको महाकाली नदी किनारमै घर छ। उनको त्यो फोनपछि बुढा हत्तपत्त उठेर ‘किस्ती’ भए तिर लागे। महाकाली किनारबाट किस्ती लिएर घरतिर फर्के।
त्यति बेलासम्म त महाकाली र जोगबुढा नदी गाउँ पसेर भारततिर सोझिइसकेको थियो।
‘गाउँका अन्यलाई पनि जानकारी दिन साइरन बजाउँदै गयौँ। तर बाढी धेरै बढेकाले कोही यताउता जान सकेनौँ’ खड्के बुढाले नेपालखबरसँग भने, ‘घरभित्रै पानी पस्यो र रासन, लत्ताकपडा सबैमा क्षति पुर्याएको छ।’
बाढी गाउँ पसेपछि घरभित्रका सरसमान जोगाउँदै थिए, स्थानीयहरु। तर, बाहिर पानी दर्किरहेको थियो। त्यस्तै हिसाबले बढ्दै थियो महाकालीको भेल पनि।
बिहान ३ बजेतिर त गाउँमा जमीन नै देखिएन। पुरै गाउँ जलमग्न भयो। गाउँलेहरु अब बाढीको भेलसँगै जीवन सकिन्छ भनेर आत्तिएका थिए।
त्यसपछि बुढाले किस्ती निकालेर गाउँलेको उद्धारमा लागे। ‘सुरुमा आफ्ना दुई बुहारी र दुई जना छिमेकीलाई किस्तीमा राखेर मैले जोगबुढा झोलुङ्गे पुलमा राखेँ’ बुढाले भने, ‘त्यसपछि एक पछि अर्को गरेर गाउँलेहरुलाई झोलुङ्गे पुलमा पुर्याएको थिएँ।’
सर्वस्व महाकालीको भेलमै छोडेर ज्यान जोगाउन गाउँलेहरु किस्तीको सहारामा सुरक्षित स्थानमा सरे। किस्तीको सहायताले गाउँलेलाई सुरक्षित स्थानमा सार्नमा बुढाका भाइ हस्ते, छोराहरु विनोद र विशाल तथा स्थानीय बासिन्दा धनीराम सुनार खटिएका थिए।
‘किस्ती नभएको भए हामी कोही पनि बाँच्ने थिएनौँ। हामी पाँच जना मिलेर एक घरबाट अर्को घर गर्दै गयौँ। पौडी खेल्दै, किस्तीमा बसाल्दै ३-४ जना गर्दै गाउँलेहरुलाई पुल लैजान सफल भयौँ।’ उनी भन्छन्, ‘पछि सेनाको र्याफ्टिङ पनि आयो। तर पानीको बहाबले यहाँ रुक्नै सकेन।’
गाउँ पसेको महाकाली पानीको बहाव धेरै थियो। नेपाली सेनाको र्याफ्टिङले खासै काम गर्न सकेन।
‘किस्तीले पानीको धार काट्ने हुनाले त्यसले उद्धार गर्न सफल भयौँ। सेनाले पछि झोलुङ्गे पुलबाट मानिसलाई ओसार्ने काम गर्यो’ किस्ती चलाउने बुढाले सुनाए, ‘हामी त सबैको उद्धारपछि बेलुका ५ बजेतिर गाउँबाट गर्याैँ।’
उर्लँदो महाकालीको भेलमा बाँच्ने आशा गुमाएका गाउँलेलाई किस्तीले जोगाएको स्थानीय टेक बहादुर सुनार बताउँछन्।
‘पानीले घर आधा डुबाइसकेको थियो। किस्ती नभएको त मानिसहरु हतासिएर मर्थे!’ उनले भने, ‘अब बाँचिँदैन भनेर सबैले हरेस खाइसकेको थिए। तर किस्तीले गर्दा हाम्रो ज्यान जोगियो।’
बुढाले वि.सं. २०४० सालदेखि किस्ती चलाउँछन्। बसोबास गरेदेखि अहिलेसम्म गाउँमा यति ठूलो बाढी नदेखेको उनी बताउँछन्।
‘४० सालमा ठूलो बाढी आएको थियो। त्यो बेलादेखि किस्ती राखेको हो’ बुढा भन्छन्, ‘यस पटकको जस्तो बाढी अहिलेसम्म देखेको थिइन।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी