२०८१ मंसिर ८, शनिबार
बाजुरा:
दूरीका हिसाबले जिल्लाको सबैभन्दा टाढाको गाउँ भनेर चिनिने स्थान हो, लाम्पाटा । जहाँ अहिलेसम्म राज्यको समेत नजर परेको देखिँदैन। हिमाली गाउँपालिका–३ मा रहेको सो गाउँ बाजुरा उत्तरी क्षेत्रको अन्तिम गाउँ छिमेकी जिल्ला हुम्लासँग जोडिएको छ । उक्त गाउँमा १३ घरपरिवार छन् । सदरमुकाम मार्तडीबाट झण्डै ५० कोष टाढा अर्थात् पैदलबाट पाँच दिनमा पुगिने लाम्पाटा गाउँवासीले अहिलेसम्म सरकारी सेवाको अनुभूति समेत पाएका छैनन् । स्वास्थ्य, शिक्षालगायत आधारभूत सेवाबाट पनि बञ्चित हुनुपरेकोे स्थानीयवासी इन्द्रा गुरुङ बताउँछिन् । गाउँमा पाँच वर्षमुनिका १५ बालबालिका रहेका र अहिलेसम्म कसैले पनि खोप लगाउन नपाएको उनको गुनासो छ । उक्त गाउँमा सबै जनजातिको बसोबास छ । गाउँमा बालविकास केन्द्रसम्म छैन् । स्वास्थ्यचौकी वडा नम्बर १ बिच्छँयामा छ । त्यहाँ पुग्न दुई दिनभन्दा बढी समय लाग्छ । स्थानीयवासी लक्ष्मी गुरुङ गर्भवती भएको छ महिना भयो, अहिलेसम्म उनले कुनै खोप लगाउन र स्वास्थ्य जाँच पनि गराउन नपाएको बताउँछिन् । गाउँका अन्य महिलाले सुत्केरी हुँदा लगाइने खोप र अन्य सेवा समेत नपाएको उनको गुनासो छ । उनीहरूको जग्गाको लालपुर्जा बाजुरा जिल्लाकै छ । तर हुम्लाका बासिन्दाले सो क्षेत्र आफ्नो भएको जिकिर गरिरहेका छन् । जग्गाको लालपुर्जा यताको छ तर जङ्गलको भोकचलन हुम्लाका बासिन्दाले गर्ने गरेको स्थानीयवासी छप्किलाल बुढा बताउँछन् । त्यस गाउँमा सुरक्षाको समेत अभाव छ । प्रहरी प्रशासनको पहुँचभन्दा टाढा रहेको यो क्षेत्रमा चोरी शिकारी समेत बढ्दै गएको छ । लाम्पाटा पुग्न गुम्बा गाउँ भएर जानुपर्छ । पुल र बाटो नहुँदा आवतजावतमा समस्या छ । लाम्पाटामा के भयो, के हँुदैछ र गाउँमा राज्यका तर्फबाट के हुँदैछ जस्ता सबै सूचनाबाट प्रायः बिमुख हुने गरेको उक्त गाउँपालिकाले जनाएको छ । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी