२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
कञ्चनपुरमा भारतबाट चोरी भएको १६३ तोला सुन र लाखौं रकमसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका–१ की अन्दाजी ३८ वर्षीया बिस्नु शाही रहेका छन् । भारतको बेङ्गोरस्थित एउटा घरमा काम गर्ने उनीहरुले चोरी गरि भागेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ । उनीहरूको साथबाट भारतीय रुपैयाँ ४३ हजार ९ सय, हङकङ डलर ४०, थाईल्याण्ड भाट १ हजार २ सय ६०, युएसए डलर १ हजार ५, क्यानडियन डलर २ हजार ८ सय १०, मलेसियन रिङ्गिट २३, सिङ्गापुर डलर १८, कतार रियाल १, दुबई दिराम १ सय ३०, चाइनिज युवान १ सय ६१ मुद्रा बरामद गरिएको छ । त्यस्तै, सुन जस्तो देखिने पत्थर सहितका पहेलो धातु १ किलोग्राम ४ सय ७१.१८ ग्राम (२२ क्यारेट), सुन जस्तो देखिने बिना पत्थरका पहेलो धातु ४ सय ३९.८९ ग्राम (२२ क्यारेट) र विभिन्न रङ्गका पत्थरहरू १ किलोग्राम ९ सय ९८.४१ ग्रामका गरगहना तथा मूर्ति समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ४ थान ल्यापटप पनि बरामद गरिएको छ । भारतको बैङ्गलोर बस्ने भेन्की पिन्च स्कोटीको घरमा काम गर्ने दुवै जनाले कार्तिक २५ गतेका घरको लकर तोडफोड गरी नगद मुद्रा, गरगहना तथा अन्य सामानहरू चोरी नेपालतर्फ भागेको सुचना आएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए । प्रारम्भिक अनुसन्धान पछि थप कारबाहीका लागि उल्लेखित दुवै जना र सामानहरू इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी