२०८१ मंसिर ८, शनिबार
कैलाली ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । सोमबार धनगढी विमानस्थल निरीक्षण र अनुगमनलागि पुगेका मन्त्री आलेले कर्मचारीहरुसँगको भेटमा विमानस्थलका लागि चाहिने आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया सहितको फाइल तत्काल मन्त्रालयमा पेस गर्न निर्देशन दिएका हुन् । निरीक्षणकै क्रममा मन्त्री आलेले विमानस्थलमा रहेका पुराना भौतिक संरचनादेखि अन्य नयाँ निर्माण गर्नुपर्ने संरचनाका विषयमा पनि लेखेर पठाउन निर्देशन दिएको विमानस्थल प्रमुख रामकृष्ण भट्टले बताए । उनले भने, “मन्त्री ज्युबाट विमानस्थलको धावनमार्गदेखि अन्य संरचना निर्माणका लागि चाहिने जग्गा अधिग्रहणको काम अघि बढाउन निर्देशन भएको छ, नागरिक उड्डयन प्राधिकरणले सो विषयका सबै फायल तयार गरी केही दिनमा मन्त्रालयमा पेस गर्नेछ ।” धनगढी विमानस्थल बिस्तारकालागि कुल ३ सय ११ बिगाह चाहिने भएको छ भने त्यसका लागि २ सय २८ बिगाह अधिग्रहण गर्नुपर्ने भएको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीले जनाएको छ । अहिले विमानस्थलसँग कुल ८३ बिगाह रहेको छ । उक्त विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल निर्माणकालागि जग्गा अधिग्रहणको काम गरिन थालेको हो । सोही क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुहरूलाई राख्ने ठाउँ साँघुरो भएकाले ती ठाउँहरूलाई फराकिलो बनाउनुपर्ने समेत निर्देशन दिएका छन् । अहिले सुदुरपश्चिमका पहाडी जिल्लाहरूमा पनि हवाई उडान सुरु भएकाले यात्रुहरूको चाप बढेपछि विमानस्थलमा यात्रु बस्ने ठाउँ अभाव हुँदै आएको गुनासो आएपछि मन्त्री आलेले ठाउँ फराकिलो बनाउन निर्देशन दिएको उनका प्रशासन सहायक भक्तबहादुर आले मगरले जानकारी दिए । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी