२०८१ मंसिर ६, बिहिबार
खीर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो। यसको नेपाली समाजमा विशेष महत्व छ। हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन महिनाभरि खीर खाने गरे पनि साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिन्छ। वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो। साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने परंपरा सुरु भएको इतिहासका जानकारहरु बताउँछन्। दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको विश्वास गरिन्छ। साउन महिनामा गाउँघरमा खेतीपातीको काम पनि सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि प्रसस्त दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन्। चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ। खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ। नेपाली बृहत् शब्दकोशमा ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी