२०८१ मंसिर ६, बिहिबार
डोटी । जिल्लाका पच्चीस हजार स्कुले बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका नौवटै स्थानीय तहमा रहेका विद्यालयमा अध्ययनरत ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा पच्चीस हजार बालबालिकालाई खोप लगाउन सुरु गरिएको कार्यालयको भनाइ छ । जिल्लामा ३३ हजार विद्यार्थीको तथ्याङ्क प्राप्त भए पनि पच्चीस हजार डोज मात्रै खोप उपलब्ध भएका कारण पहिलो चरणमा पुग्ने जतिलाई खोप लगाउन थालिएको र बाँकीलाई दोस्रो चरणमा लगाइने कार्यालयका स्रोत व्यक्ति डिल्लीरमण जोशीले जानकारी दिए ।
उनका अनुसार हालसम्म कम्तीमा पनि १० हजार जनालाई खोप लगाइएको छ । यो खोप फ्रिजबाट निकालेको एक महिनाभित्र लगाइसक्नुपर्ने भएकाले चाँडै लगाउन थालिएको स्रोत व्यक्ति जोशीले बताए। यहाँका ९५ प्रतिशत खोप केन्द्र विद्यालयमै दिइने र केही खोप केन्द्र अस्पताल तथा स्वास्थ्य चौकीबाट उपलब्ध गराइने भएको छ ।
विद्यार्थी पनि खुसीकासाथ कोरोनाविरुद्धको खोप लगाउन थालेका कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए । उनले भने, “हामीले विद्यालयमै कोरोना विरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थी पनि खुसीकासाथ खोप लगाउन थालेका छन् ।” रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी