२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
सुदूरपश्चिमकै सुनौलो व्यवस्थित सहर महेन्द्रनगर
जनसंख्याको हिसाबले देशकै आठौँ ठूलो सहर महेन्द्रनगर
विक्रमको २०१८ मा भएको राजनीतिक विभाजनबाट कैलाली र कञ्चनपुर दुई जिल्लामा बाँडिए । ब्रह्मदेवमा रहेको बजार र बेलौरीमा अवस्थित सदरमुकामलाई तत्कालिन घुसुडी बजारमा स्थान्तरित गरी महेन्द्रनगर बजारको स्थापना भएको इतिहास पाइन्छ । राजा महेन्द्रको प्रत्यक्ष निर्देशनमा व्यवस्थित गरिएको बजार देशकै नमुना बजारका रुपमा लिने गरेको पाइन्छ । आवास क्षेत्र, कार्यालय क्षेत्र र बजार क्षेत्रको व्यवस्थापनबाट यसको पुष्टि हुन्छ ।
इतिहासका पानाहरु पल्टाएर हेर्दा आर्य कत्युरी शासक ब्रह्मदेवसँग सम्बन्ध जोडिएको कञ्चनपुरको प्रगाढ सम्बन्ध डोटी राज्य सित समेत रहेको पाइन्छ । तत्कालिन अवस्थामा तल्ली माल र मल्ली माल भनेर चिनिने गरेका कैलाली–कञ्चनपुर क्षेत्रमा पूर्वबाट बसाई सर्दै आएका डगौरा थारु तथा पश्चिमबाट बसाई सर्दै आएका राना थारु जातिको आगमनबाट यो क्षेत्र आवाद भएको पाइन्छ । कञ्चनपुरमा २०१८ साल पश्चात् बजारको व्यवस्थापन गरिए पछि र तराइ भावर क्षेत्रमा औलो नियन्त्रण भए पश्चात् सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट यहाँ बसाई सर्नेको संख्या बढ्दै गएको पाइन्छ ।
वि.सं. २०२२÷२३ तिरको भोकमरीमा पहाडी जिल्लाहरुको भ्रमण गरी कैलाली कञ्चनपुर आवाद गर्न राजा महेन्द्र स्वयम्ले उत्प्रेरणा दिएको कुरा जानकारहरु बताउँछन् । २०४६ को जनआन्दोलन पश्चात् महेन्द्रनगर नगर पंचायतबाट बहुदल स्थापना भएसँगै महेन्द्रनगर नगरपालिका बनेको र २०६५ साल कार्तिक २० गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार शहीद भिमदत्त पन्तको सम्मान स्वरुप भीमदत्त नगरपालिका नामाकरण गरियो ।
तत्कालिन अवस्थामा नेपालमाथि भारतीयहरुको थिचोमिचो बढिरहेको र तराइ भावर क्षेत्रमा तिनीहरुले थप थिचोमिचो नगरुन भनेर झापादेखि कञ्चनपुरसम्म ठाउँ–ठाउँमा नेपाली बस्ती बसालेको तथा सीमा सुरक्षाका लागि हतियार चलाउन जानेका भूपु सैनिकदेखि लिएर बर्माबाट प्रताडित भएका नेपालीहरुलाई आवास उपलब्ध गराएका थिए, राजा महेन्द्रले । राजाको दूरदर्शीता पुनर्वासमा सीमा सुरक्षार्थ गोविन्द गौतमको सहादतबाट पुष्टि हुन्छ । बहुदलपछि बन्द गरिएको कञ्चनपुरको पुनर्वासमा रहेको पुनर्वास एण्ड कम्पनीको भग्नावशेष आज पनि साक्षी रहेको पाइन्छ । कुटनीतिमा अब्बल दूरदर्शी राजा महेन्द्रले नेपाल र नेपालीका लागि गरेको योगदान अविस्मणीय छ ।
जननिर्वाचित सरकार अपदस्त गरी पंचायती व्यवस्था लागु गर्ने राजालाई तानाशाह भने पनि नेपालीले सम्झनै पर्ने देखिन्छ । देशलाई सडक सञ्जाल मार्फत जोडेर, औद्योगिकीकरण गर्न र पढे लेखेका युवाहरुलाई गाउँ फर्क अभियानबाट गाउँको विकास गर्न अभिप्ररित गर्ने कार्य राजा महेन्द्रका अविस्मणीय कार्य मध्ये मानिन्छन् । २०६२÷६३ को आन्दोलन पश्चात् महेन्द्रनगर, विशालनगर, भीमदत्तनगर, भीमनगर आदि इत्यादिबाट नाम परिवर्तन गर्ने होडबाजी चलेको अवस्थामा कायम गरिएको नगरपालिकाको नाम भीमदत्त नगरपालिका सर्वस्वीकार्य भई सकेको अवस्थामा अझै पनि महेन्द्रनगर सहरको नाममा आन्दोलनका बछिटाहरु पाइन्छ ।
जनतालाई सचेत पार्ने राष्ट्रकै चौथो अंगको रुपमा लिइने गरेको पत्रपत्रिकाहरुमै कतै भीमनगर कतै भीमदत्तनगर त कतै महेन्द्रनगर उल्लेख हुनु, बजार क्षेत्रका गल्लीहरुमा रहेका विभिन्न पसलहरुमा झुण्डिएका साइनबोर्डहरुमा भीमनगर, भीमदत्तनगर, महेन्द्रनगर आदि लेखेर जनतालाई भ्रमित पार्ने काम गरिनुलाई के भन्ने त ?
राजा महेन्द्रले राजगद्दी सम्हाल्नु अघिनै शहीद भएका भीमदत्त र महेन्द्रको तुलना गरी बखेडा झिकेर विवाद गर्नु उपयुक्त हो जस्तो लाग्दैन । वि.सं. २००७ सालमा राजा, काँग्रेस र राणाशासक बीच भएको दिल्ली सम्झौतामा विमति जनाउँदै विद्रोह गरेका निडर, निर्भिक भीमदत्त तत्कालिन ठालु प्रथा विरोधी रहेका र किसानको पक्षमा वकालत गर्ने एक बीर योद्धा रहेको प्रत्यक्ष इतिहास कञ्चनपुरसँग जोडिएको छ । कञ्चनपुर भित्र पनि ब्रह्मदेव–टनकपुर (नुन काण्ड) र बेलौरी (जेल काण्ड) सँग उनको ऐतिहासिक साइनो प्रगाढ पाइन्छ । कञ्चनपुरकै अन्य स्थानमा बजार विस्तार भई रहेको क्षेत्रलाई भीमदत्तको नाममा बजार स्थापना गर्ने साहस किन गरिँदैन ? महेन्द्रले बसाएको सहरमाथि मात्र राजनीति किन गरिन्छ ? यो एउटा जनताका मनमा उठिरहने प्रश्न हो ।
यहाँ नामको राजनीति धेरै र कामको राजनीति थोरै हुने गरेको पाइन्छ । काम गर्न नामले बिगार्छ जस्तो लाग्दैन । तर राजा भएकै नाताले महेन्द्र विरुद्ध नेपाली समाजमा यतिसम्म विषबमन गरिएको कि उनको नाम सुन्नै नचाहने, शालिक देख्नै नचाहने अवस्थामा पु¥याइयो । यहाँसम्मकि राजाकै निगाहमा कञ्चनपुर आवाद गरिरहेका भूपु सैनिक परिवार, पहाडबाट बाढी पहिरोमा परी विस्थापित भए पश्चात् बसाइएका र बर्मेली समुदायका परिवारहरु मध्ये धेरैजसो राजा विरुद्ध अग्र मोर्चामा मोर्चाबद्ध देखिन्थे ।
महेन्द्रनगरमा राजा पृथ्वीनारायण शाह, जननेता मदन भण्डारी, वि.पि. कोइराला, पुष्पलाल, आदिकवि भानुभक्त आचार्य, शहीद दशरथ चन्द, शहीद भीमदत्त पन्त, प्रथम महिला मन्त्री द्वारिकादेवी लगायतका शालिकहरु अवस्थित रहेको सहरमा धेरै शालिकहरु थप्नुभन्दा पनि भए गरेका शालिकहरु व्यवस्थित गरी महेन्द्रनगरलाई गुन लगाएका राजा महेन्द्रको शालिक पुनस्र्थापना गर्दा राजनीतिक जातै जाने अवस्था छ जस्तो लाग्दैन ।
शालिक बिना पनि सहर चल्ने नै हुन्, तर महेन्द्रनगरमा राजा महेन्द्रको शालिक रहेको थियो र रहनु पर्दछ । इतिहासलाई आफैँ बोल्न दिनुपर्दछ । राजा महेन्द्रलाई तानाशाह, निरंकुश जे उपमा दिए पनि उनको योगदानलाई कञ्चनपुरले बिर्सनु हुँदैन ।
तसर्थ नाम र शालिकमा दरिद्र मनसिकताको राजनीति गर्नुभन्दा पनि इतिहासलाई नयाँ पुस्तामा जस्ताको त्यस्तै हस्तान्तरण हुन दिऊँ र बोल्न दिऊँ । न्याय र स्वतन्त्रताको लागि सधैँ आवाज बुलन्द गरिरहने महेन्द्रनगर न्यायका लागि कहिले बिउझन्छ त ? यो हेर्न बाँकी नै छ ।
सुदूरपश्चिमकै प्रसिद्ध शैक्षिक सहरका रुपमा चिनिने महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालय रहेको कुरा जगजाहेरै होला । किन हुँदैनन् विश्वविद्यालयका प्राज्ञिक तहमा यस्ता बहसहरु ? यसरी बुद्धिजीवीहरु प्रशस्त भएको सहर शैक्षिक जनशक्ति उत्पादन गर्ने सचेत सहर के सुतेकै हो त ? प्रश्न खडा हुन्छ ।
४६ यता ध्वंस धेरै भयो, निर्माण थोरै । ध्वंस पछि निर्माण गर्न पनि सिकौँ । एक विचार पक्षले अर्को विचार पक्षको नामै सुन्न नचाहने, शालिक भत्काउँदै जाने कार्यलाई निरन्तरता दिने हो भने हामी र हाम्रो सभ्यता कहाँ गएर विश्राम लिने हो, एकछिन कल्पना गर्नै पर्दछ । राजा महेन्द्र त तानाशाह थिए, ठीक छ । तर नेपाल एकीकरणको महाअभियान थालनी गर्ने पृथ्वीनारायण शाह र नेपाललाई भाषिक एकतामा गाँस्ने आदिकवि भानुभक्त आचार्य तथा अति नै लोकप्रिय भनिने गरेका राजा विरेन्द्रका शालिकहरु पनि आन्दोलनको चपेटामा रिसको झोकले तोडिए फोडिए । समय धेरै घर्किसक्यो । अब त अति भयो । सम्मान पाउन सम्मान गर्न पनि सिक्ने की ? राजा महेन्द्रको शालिक आफू अनुकुल महेन्द्र स्मारक, भीमदत्त स्मारक, गणतन्त्र स्मारक भनिने गरेको ठाउँमा स्थापना गरियोस् । अब गर्नै सकिँदैन भन्ने सम्म हामी पुगेकै हौ भने राजा महेन्द्रको शालिक महेन्द्रनगरमा नै संग्रहालय स्थापना गरी नयाँ पिँढीले हेर्ने वातावरण सरकारले बनाओस् । राज्यको सम्पत्ति तोडिएको महेन्द्रको शालिक कहाँ छ ? खोजी गरियोस् ।
ठाउँ–ठाउँमा मन लागि भ्यु–टावर बनाउन व्यस्त सरकारले ऐतिहासिक शालिक पुनस्र्थापना नगर्नु आफैँमा आश्चर्यको कुरा हो । न्यायको लागि सधैँ लडिरहने तानाशाह भनिए पनि राष्ट्र, राष्ट्रियताका लागि लडेका र समाजलाई धेरैँ कुरा दिएर गएका राजा महेन्द्र प्रति सहीलाई सही र गलतलाई गलत भनेर न्याय गर्छकि गर्दैन यो कुरा हेर्न बाँकी नै छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी