२०८१ मंसिर ११, मंगलबार
डिएफओ तिवारी आएपछि वनमा बेथिति बढ्यो : स्थानीय उपभोक्ता
कञ्चनपुर:
कञ्चनपुरमा वनका कर्मचारी र सामुदायिक वनका पदाधिकारीको कञ्चनपुरमा वन फडानी भईरहेको छ । भीमदत्त नगरपालिका–९ स्थित बैजनाथ सामुदायिक वनमा अवैध रुपमा रुख कटानी गरिएको छ । सामुदायिक वनका पदाधिकारी र वन कर्मचारीको मिलोमतोमा रुख कटानी भएको स्थानीय उपभोक्ताले बताएका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरमा डिएफओ शम्भु प्रशाद तिवारी आएसंगै वनका बेतिथि बढ्दै गएको स्थानीय उपभोक्ताहरुले बताएका छन । वन फडानी भएको स्थानमा प्रमाण नष्ट गर्नका लागि वनकै कर्मचारीको सुझाव अनुरुप जरोपार गरिएको छ । जसबाट समेत वनका कर्मचारी र सामुदायिक वनका पदाधिकारीको कञ्चनपुरमा वन फडानी भएको उपभोक्ताको दावि छ ।
मिलोमतोमा १ महिनादेखि रुख कटानी भइरहेको स्थानीय शेरबहादुर विष्टले बताए । ‘वन कर्मचारी र पदाधिकारीको मिलोमतोमा १०÷१२ रुख कटानी गरिएका छन्,’ उनले भने ।
वनबाट दुई वटा काँचो रुख समेत काटिएका छन् । सामुदायिक वनबाट काटिएका रुखहरुलाई पदाधिकारीले स्थानीय काठ मिलमा बेचेको पनि बिष्टको भनाई छ । ‘राति–राति वनमा सालका रुखहरु कट्छन्,’ उनले भने, ‘जेसीबी प्रयोग गरेर रुखका मुढाहरु समेत गायब पारिएको छ ।’
वन कार्यालयको आदेश विना सामुदायिकका पदाधिकारीले घाटगद्धीमा राखिएका रुखलाई बेचविखन गरेको उनले बताए । ‘वनमा काटिएका र घाटगद्धीमा राखिएका रुखहरुलाई स्थानीय गोपाञ्जल फर्निचर उद्योगमा बेचबिखन गरेका छन्,’ उनले भने, ‘यस विषयमा अख्तियार र वन कार्यालयमा समेत जानकारी दिएका छौं, कुनै सुनवाई भएको छैन् ।’
रुख ढलेर सडकमा परेकाले काटेको सामुदायिक वनका अध्यक्ष किसन नाथले बताए । ‘रुख ढलेर सडक अवरुद्ध भएको थियो,’ उनले भने, ‘सामुदायिक वनको विधान अनुसार रुख कटानी गरेका हौं ।’
काटिएका रुखहरु उपभोक्तालाई वितरण गरेको उनको भनाई छ । ‘दुई जनालाई ती रुखको काठ वितरण गरेका हौं,’ उनले भने, ‘घाटगद्धीमा राखिएका रुखहरुलाई पनि उपभोक्तालाई वितरण गरेका हौं ।’
घाटगद्धीमा राखिएको काठलाई वितरण गर्न वन कार्यालयको अनुमति लिनुपर्छ । तर, सामुदायिक वनका पदाधिकारीले वनबाट अनुमति लिएका छैनन् । ‘उपभोक्ताको माग अनुसार २६÷२७ जनालाई काठ वितरण गरेका हौं,’ उनले भने, ‘हामीले काठ मिललाई बिक्री गरेका छैनौं ।’
सामुदायिक वनका पदाधिकारीले कानून विपरीत काठ वितरण तथा विक्री गरेको निवेदन परेको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए । ‘जेठ ३० गते निवेदन दिएका थिए, वन कार्यालयले अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘वन कार्यालयबाट अनुमति लिएर मात्रै रुख कटानी र घाटगद्धीमा राखेका काठ विक्री, वितरण गर्न पाइन्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयका प्रमुख रामबहादुर कुरुमवाङले यसबारे अनुसन्धान गरी प्रतिवेदन पेश गर्न वन कार्यालयलाई भनिएको र त्यसपछि आवश्यक छानविन आयोगले गर्ने बताए । ‘वन कार्यालयले अनुसन्धान गरेर प्रतिवेदन दिन भनेका छौं,’ उनले भने, ‘त्यसपछि आर्थिक अनियमिततालगायतका विषयमा आयोगले अनुसन्धान गर्छ ।’ दुर्इू बर्ष अघि वैज्ञानिक वन व्यवस्थापन वनमा अनियमितता छानबिन गर्नका लागि शान्ता चौधरी नेतृत्वको संसदीय टोली कञ्चनपुर आएका बेला तत्तकालिन काँग्रेस जिल्ला सचिव दिवाकर पाण्डेले कञ्चनपुरमा डिएफओ हुनका लागि माथिल्ला निकायमा लाखौँ दाम चढाएर करोडौँ रकम कमाउन कर्मचारी कञ्चनपुर आउने अभिव्यक्ति अहिले आएर सावित भईरहेको उपभोक्ताले बताएका छन । उपभोक्तालाई दिनुपर्ने काठ ठेकेदार व्यवसायीलाई बेच्ने छोटपुर्जीदेखि हरेक योजनाबाट कमिसन लिने जस्ता अनेकन गैर कानुनी कामबाट मोटो रकम अशुल्ने भएपछि कञ्चनपुरको वन फडानी भईरहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी