२०८२ चैत्र १९, बिहिबार


बागलुङः
नेपालको एक मात्र शिकार आरक्षको रूपमा चिनिने ढोरपाटन शिकार आरक्षमा पछिल्लो आर्थिक वर्ष २०८१÷८२ मा पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको छ। ढोरपाटन शिकार आरक्ष कार्यालयका अनुसार, यो अवधिमा कुल २३,६९२ जना आन्तरिक तथा बाह्य पर्यटकले आरक्ष भ्रमण गरेका थिए, जुन अघिल्लो वर्ष १५,५७३ जनाको तुलनामा करिब ८,००० बढी हो।
ढोरपाटन शिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको सिमानाभित्र फैलिएको छ। कुल १,३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष सन् १९८७ मा स्थापित गरिएको हो। यो नेपालकै एक मात्र आरक्ष हो जहाँ ट्रफी शिकार कानुनी रूपमा अनुमत छ। शिकारसँगै यहाँको जैविक विविधता, हिमाली दृश्य र सांस्कृतिक सम्पदाले पनि पर्यटकलाई आकर्षण गर्छ।
आरक्षका रेन्जर सागर सुवेदीका अनुसार, पर्यटक आगमन वृद्धिको प्रमुख कारण प्रचारमा वृद्धि, सुधारिएको भौतिक पूर्वाधार, पदमार्गहरूको विकास र सामाजिक सञ्जालमा क्षेत्रको प्रचार–प्रसार रहेका छन्। उनका अनुसार, यस वर्ष गैरसार्क मुलुकका २१३ जना र सार्क देशका १२ जना पर्यटक आएका थिए भने बाँकी सबै आन्तरिक पर्यटक थिए।
पर्यटक संख्याको वृद्धिसँगै राजस्व आर्जन पनि बढेको छ। नेपाली नागरिकहरूलाई आरक्ष प्रवेश गर्न १०० रुपैयाँ शुल्क लाग्छ। रेन्जर सुवेदीले बताएअनुसार, गत आर्थिक वर्षमा प्रवेश शुल्कबाट २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ। विदेशी पर्यटकहरूका लागि शुल्क अझै उच्च छ, जसबाट शिकार अनुमति, गाइड सेवा लगायतबाट थप आम्दानी हुने गरेको छ।
ढोरपाटन आरक्ष विदेशी पर्यटकहरूका लागि विशेष गरी ट्रफी शिकारको गन्तव्य बनेको छ। उनीहरू हिमालीन जनावरहरू जस्तै ब्लुशीप (जंगली भेडा) को ट्रफी शिकारका लागि आउने गर्छन्। सरकारले वार्षिक रूपमा सीमित शिकार अनुमति दिन्छ, जुन पर्यटनमार्फत वैदेशिक मुद्रा आर्जनको स्रोत पनि हो।
आन्तरिक पर्यटकहरूको लागि भने ढोरपाटनको आकर्षण यसको प्राकृतिक सौन्दर्य, सांस्कृतिक स्थलहरू र पदयात्रा अनुभव हुन्। यहाँका ढोरपाटन उपत्यका, निसेलढोर, ढोरबाराह मन्दिर, बुकीपाटन, जलजला, लगायतका स्थलमा पर्यटक आकर्षित हुने गरेका छन्। यी स्थलहरूले हिमाली जीवनशैली, धर्म, र जैविक विविधताको अद्भुत मिश्रण प्रस्तुत गर्छन्।
आरक्ष क्षेत्रमा पछिल्लो समय पदमार्ग पर्यटनप्रति पनि आकर्षण बढेको छ। बागलुङ–ढोरपाटन पदमार्ग, जलजला पदमार्ग र रुकुमबाट ढोरपाटन पुग्ने ट्रेलहरू पर्यटकहरूका लागि रमाइलो अनुभव बनिरहेका छन्। यी ट्रेकिङ मार्गहरूमा स्थानीय गाइड र होमस्टेहरूको सहयोगले साहसिक पर्यटनलाई अझ सहज बनाएको छ।
पर्यटकको चाप बढेसँगै ढोरपाटनमा करिब दुई दर्जन होटल तथा सामुदायिक होमस्टे सञ्चालनमा आएका छन्। ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तीका अनुसार, “पर्यटकहरूलाई स्थानिय खाना, रहनसहन, संस्कृतिको अनुभव दिने व्यवस्था मिलाइएको छ। होमस्टे व्यवसायले गाउँमा रोजगारी सिर्जना गर्नुका साथै आम्दानीको स्रोत पनि बढाएको छ।”
ढोरपाटनमा आउने पर्यटकहरूले अहिले पर्यटन प्याकेजमार्फत यात्रा गर्न थालेका छन्। काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल जस्ता ठूला सहरबाट विभिन्न ट्राभल एजेन्सीहरूले गाइडसहितका प्याकेजहरू सञ्चालनमा ल्याएका छन्। यसले गर्दा पर्यटकका लागि ढोरपाटन भ्रमण झनै सजिलो र व्यवस्थित भएको छ।
जैविक विविधताले भरिपूर्ण ढोरपाटन आरक्षमा रेड पाण्डा, हिमचितुवा, कस्तुरी मृग, जंगली भालु, नीलगाई, हिमाली खरायो जस्ता लोपोन्मुख वन्यजन्तु पाइन्छन्। साथै, यहाँ दुर्लभ चराचुरुङ्गी र जडीबुटी पनि पाइन्छन्। आरक्षको मुख्य उद्देश्य वन्यजन्तुको संरक्षण र व्यवस्थापनसहितको पर्यावरण सन्तुलन कायम गर्नु हो।
यद्यपि, यहाँ अनधिकृत शिकार, अवैध जंगल फडानी, चरन क्षेत्रको दुरुपयोग, र वन्यजन्तु तस्करीजस्ता चुनौती पनि रहेका छन्। ढोरपाटन शिकार आरक्ष कार्यालयले निगरानी, सचेतना कार्यक्रम, र स्थानीय समुदायको सहभागितामार्फत यी समस्यासँग जुधिरहेको छ।
आरक्षको सफल व्यवस्थापनमा वन मन्त्रालय, ढोरपाटन शिकार आरक्ष कार्यालय, स्थानीय सरकार, र सामुदायिक वन उपभोक्ता समूहहरूको सहकार्य रहेको छ। स्थानीय तहहरूले पर्यटकीय पूर्वाधार निर्माण, पदमार्ग विकास र होमस्टे प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेका छन्।
ढोरपाटनको पर्यटन विकासलाई अझ सुदृढ बनाउनका लागि आगामी वर्षहरूमा डिजिटल प्रविधिको प्रयोग, पर्यटन सूचना केन्द्र स्थापना, पदमार्ग विस्तार, शिकार नीति सुधार, र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ।
रेन्जर सुवेदी भन्छन्, “हामी ढोरपाटनलाई आन्तरिक र अन्तर्राष्ट्रिय दुवै पर्यटकका लागि दिगो पर्यटन गन्तव्यको रूपमा विकास गर्ने योजनामा छौं। यसका लागि विभिन्न निकायसँग सहकार्य गर्दै डिजिटल प्रविधि, सूचना व्यवस्थापन र सुरक्षा सुदृढीकरणमा लागिरहेका छौं।”

अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय