२०८२ चैत्र १९, बिहिबार


कञ्चनपुरः
कञ्चनपुर, भदौ । निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औं अधिवेशन नजिकिँदै गर्दा जिल्लाभरका निर्माण व्यवसायी र ठेकेदारहरूबीच चुनावी सरगर्मी चुलिएको छ । संघको नेतृत्व चयनका लागि यसपटक पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका निरञ्जन प्रसाद भट्ट फेरि सबैको ध्यानाकर्षणको केन्द्र बनेका छन् । १४औं अधिवेशनमा प्रतिद्वन्द्वी पुष्पराज अवस्थीलाई ४२ मतको अन्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका भट्टले आफ्नो नेतृत्वकालमा गरेका काम, समस्या समाधानमा देखाएको सक्रियता र व्यवसायीको पक्षमा उठाएका आवाजकै आधारमा अहिले पुनः नेतृत्वमा आउने दाबी गरिरहेका छन् । संघको १४औं अधिवेशनमा उनले एक सय ५५ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए भने उनका प्रतिद्वन्द्वी अवस्थीले एक सय ९ मत पाएका थिए । अब १५औं अधिवेशनमा फेरि मैदानमा उत्रिएका भट्टले आफूले विगतमा गरेको कामलाई आधार बनाउँदै फेरि जिम्मेवारी दिनुपर्ने आवश्यकता रहेको बताउँदै आएका छन् ।
भट्टको नेतृत्वमा संघले गरेको कामलाई लिएर पूर्व अध्यक्ष तथा पदाधिकारीहरूले समेत खुलेर समर्थन जनाएका छन् । संस्थापक अध्यक्षदेखि हालसम्मका छ जना पूर्व अध्यक्षहरूले एक स्वरमा भट्टलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
संस्थापक अध्यक्ष लोक बहादुर ठगुराठीले भट्टले आम व्यवसायीको हकहितका लागि गरेको काम उदाहरणीय भएको भन्दै फेरि अध्यक्ष बनाउनु पर्ने धारणा राखेका छन् । पूर्व अध्यक्ष गजेन्द्र बहादुर चन्दले सरकारी कार्यालयमा व्यवसायीले बोक्दै आएका समस्याको समाधान गर्न भट्ट नेतृत्व सफल भएको स्मरण गर्दै आफ्नो समर्थन प्यानलमा रहेको बताएका छन् । पूर्व अध्यक्ष राजेन्द्र बहादुर चन्दले पनि व्यवसायीलाई एकताबद्ध बनाउँदै अघि बढ्न सक्ने क्षमता भट्टसँग रहेको उल्लेख गर्दै समर्थन जनाएका छन् । त्यस्तै धर्मानन्द भट्ट,भुवन राज भट्ट र रामदत्त लेखकले पनि भट्ट नेतृत्वमा संघले अपेक्षित काम गरेको भन्दै फेरि समस्या समाधानदेखि हकहितका लागि काम गर्ने भएकाले समर्थन, सहयोग र जिताउने जिम्मेवारी आफूहरूको रहेको घोषणा गरेका छन् ।
शनिबार भट्टले आफ्नो प्यानल घोषणा गर्दै फेरि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे । उनले प्यानललाई युवा पुस्ताको प्रतिनिधित्व गर्ने, संस्थागत सुधार गर्ने र आम व्यवसायीका साझा मुद्दा समाधान गर्ने गरी तयार पारेको बताएका छन् । प्यानलमा वरिष्ठ उपाध्यक्षका लागि देब बहादुर चन्द, उपाध्यक्षमा दिपक भट्ट, महासचिवमा योगेन्द्र ठगुराठी, सचिवमा बृजकिशोर चन्द, कोषाध्यक्षमा तेज बहादुर चन्द र सहसचिवमा हेम बहादुर महरा छन् । भट्टले प्यानल घोषणा कार्यक्रममा आफ्नो प्यानल काँग्रेस–एमाले निकट विचार राख्ने भए पनि यसले सबै व्यवसायीको आवाज बोल्ने र साझा मुद्दा समाधान गर्ने प्रतिबद्धता रहेको प्रष्ट पारे । उनले भने, “हाम्रो प्यानल युवा व्यवसायीको प्रतिनिधित्व गर्ने हो । हामीले विगतमा गरेका कामको मूल्याङ्कन गर्दै फेरि नेतृत्वमा आउन चाहेका हौं । व्यवसायीलाई पेशागत सुरक्षासहित हकहित दिलाउन निरन्तर काम गर्नेछौं ।”
भट्टको लोकप्रियताको प्रमुख आधार भनेकै भुक्तानी समस्या समाधानमा देखाएको सक्रियता हो । कञ्चनपुरमा मात्र होइन, देशभर निर्माण व्यवसायीको साझा समस्या नै ठेक्का भुक्तानीमा ढिलासुस्ती हो । काम सम्पन्न गरेर पनि महिनौं र वर्षौंसम्म रकम नपाउने व्यवसायीहरूको पीडा विगतदेखि नै गहिरो छ । भट्टले अध्यक्ष रहँदा यस समस्यालाई प्राथमिकतामा राखेर तत्काल भुक्तानी दिलाउनेतर्फ पहल गरेका थिए । विशेषगरी लालझाडी, बेलौरी, भीमदत्त नगरपालिका लगायतका स्थानीय तहमा रोकिएका भुक्तानीको निकासा गराउन उनले अग्रसर भूमिका खेलेका थिए । यसले तत्कालीन आर्थिक संकटबाट व्यवसायीलाई राहत दिलाएको थियो । साथै, कर्मचारीसँग व्यवसायीबीच देखिएका विवाद समाधान, गुणस्तरमा देखिएका समस्या हटाउन चेतावनी र दबाब, ठेक्का प्रक्रियामा देखिएका जटिलता निरुपण जस्ता कार्यमा उनले सक्रियता देखाएका थिए । यही कारण अहिले पनि व्यवसायीहरूले उनलाई पुनः अध्यक्ष बनाउनुपर्ने आवश्यकता रहेको ठानिरहेका छन् ।
उद्योग निर्माण परिसंघका अध्यक्ष ज्ञानेन्द्र फुयालले समेत भट्ट नेतृत्वको कामलाई सराहना गर्दै समर्थन जनाएका छन् । उनले भने, “भट्ट प्यानलले विगतमा राम्रो काम गरेको छ । त्यसैले हाम्रो समर्थन फेरि पनि उनीहरूसँग छ ।” त्यस्तै कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेशदत्त जोशीले जिल्लाका निर्माण व्यवसायीका हकहितमा काम गर्ने क्षमता भट्टसँग रहेको भन्दै फेरि जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् । युवा व्यवसायी गजेन्द्र विक्रम थापाले पनि संघको संस्थागत विकास र व्यवसायीको हकहितका लागि भट्टले नेतृत्व दिनु पर्ने बताएका छन् ।
१४ औँ अधिवेशनमा पराजित भएका पुष्पराज अवस्थी यसपटक पनि प्रतिस्पर्धामा देखिन सक्ने अनुमान छ। यद्यपि उनले अहिलेसम्म प्यानल घोषणा गरेका छैनन्। अवस्थीले अन्तिम क्षणसम्म रणनीति बनाउने अघिल्ला अधिवेशनमा पनि देखाएका थिए। यदि यसपटक उनले बलियो टोली बनाए भने भट्टलाई सहजै जित्न कठिन हुने विश्लेषण गरिन्छ। किनभने करिब २८० मतदातामध्ये सानो अन्तरले पनि समीकरण उल्टिन सक्छ।
व्यवसायीहरूले संघसँग धेरै अपेक्षा राखेका छन् । ठेक्का प्रक्रियामा हुने अनियमितता नियन्त्रण, समयमा भुक्तानी सुनिश्चितता, निर्माण कार्यमा गुणस्तर कायम राख्ने दबाब, व्यवसायी र कर्मचारीबीच देखिने विवाद समाधान, पेशागत सुरक्षासहित व्यवसायीको हैसियत उच्च बनाउने जिम्मेवारी संघले लिनुपर्ने उनीहरूको माग छ । भट्टले आफ्नो कार्यकालमा यी विषयलाई प्राथमिकतामा राखेको भए पनि आगामी दिनमा अझ ठोस काम गर्नुपर्ने दबाब व्यवसायीले राखिरहेका छन् ।
विश्लेषण गर्दा यो अधिवेशनलाई विभिन्न कोणबाट बुझ्न सकिन्छ । पहिलो, संस्थागत निरन्तरता – संघमा निरन्तरता दिने सोचले भट्टलाई बलियो बनाएको छ । दोस्रो, युवा पुस्ताको उदय–प्यानलमा युवा व्यवसायीलाई अघि सारिएको छ जसले भविष्यमा संगठनलाई दिगो बनाउने अपेक्षा गरिएको छ । तेस्रो, राजनीतिक समीकरण– काँग्रेस–एमाले निकट विचार भए पनि साझा मुद्दा नै प्राथमिकता हुने देखिन्छ । चौथो, समस्या समाधानको अनुभव–भट्टले विगतमा देखाएको परिणामकै आधारमा लोकप्रियता बढाएको छ । तर पाँचौं, आन्तरिक चुनौती–एकै नेतृत्व निरन्तर दोहोरिँदा नयाँ विचार र समावेशीकरणमा कमी आउन सक्ने सम्भावना रहन्छ ।
निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं अधिवेशन केवल संगठनको नेतृत्व चयन मात्र होइन, जिल्लाका व्यवसायीहरूको भविष्य र अधिकार सुनिश्चित गर्ने प्रक्रिया पनि हो । विगतमा भट्ट नेतृत्वमा संघले देखाएको सक्रियताले व्यवसायीलाई ठूलो राहत दिएको छ । यस कारण उनलाई पुनः नेतृत्व दिनुपर्ने धारणा व्यवसायीबीच बलियो बनेको छ । तर लोकतान्त्रिक प्रक्रियामा अन्तिम निर्णय मतदाताले नै गर्नेछन् । जसले पनि जिते, कञ्चनपुरका निर्माण व्यवसायीहरूको प्रमुख चुनौती—भुक्तानी, गुणस्तर, पेशागत सुरक्षा र सरकारी निकायसँगको सम्बन्ध सुधार—माथि ध्यान दिनैपर्छ । यदि भट्ट पुनः नेतृत्वमा फर्किए भने उनले आफ्नै विगतको कामभन्दा अझ ठोस उपलब्धि देखाउनुपर्नेछ, नभए समर्थनको लहर लामो समय टिक्ने छैन । त्यसैले यो अधिवेशन व्यवसायीहरूको भविष्यका लागि मात्र होइन, संघको विश्वसनीयता कायम गर्ने निर्णायक मोड पनि हो ।

अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय