२०८२ चैत्र १९, बिहिबार


कञ्चनपुरः
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का वडाअध्यक्ष गगन सिंह धामीले आफ्नो निर्वाचनपश्चात् सुरु गरेका विकास योजनाहरू, जनतासँग गरेका वाचा र बाँकी कामबारे खुलेर कुरा गर्दै आफूहरूले उल्लेखनीय उपलब्धि हासिल गरिसके पनि अझै केही काम बाँकी रहेको स्पष्ट पारेका छन्। उनले वडाको वास्तविक अवस्था, स्रोत–साधन, संघ–प्रदेशसँगको सहकार्य, जनअपेक्षा र अवरोधहरूबारे लामो मूल्यांकन प्रस्तुत गर्दै आफ्नो कार्यकाललाई आत्ममूल्यांकन गर्ने ढंगमा समेटेका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा विजयी भएपछि धामी नेतृत्वको वडा कार्यालयले प्राथमिकतामा राखेका योजना खानेपानी, सडक, शिक्षा र सामाजिक सुरक्षाका कार्यक्रम रहेका थिए। धामी भन्छन्, “हामी निर्वाचित भएको तीन वर्ष नपुग्दै धेरै विकासका कामहरू गर्न सफल भएका छौं, केही कामहरू अझै अधूरा छन्। खानेपानीका क्षेत्रमा धेरै स्थानमा सुधार भएको छ। एउटा ठूलो खानेपानी योजना अझै निर्माणाधीन छ, त्यो सम्पन्न भएपछिमात्र वडामा पूर्ण खानेपानी व्यवस्थापन हुन्छ।” उनका अनुसार, खानेपानी वडावासीको जीवनसँग प्रत्यक्ष जोडिएको मूल आवश्यकता हो, त्यसैले यसलाई पहिलो प्राथमिकता दिइएको हो।
सडक र पूर्वाधार सुधारलाई धामीले अर्को महत्त्वपूर्ण उपलब्धि मान्छन्। उनको भनाइमा, अघिल्लो अवस्था र अहिलेको अवस्थाको तुलना गर्दा वडामा उल्लेख्य सुधार आएको छ। “पहिले हिँड्नै गाह्रो हुने अवस्था थियो, अहिले भने सडक संरचना, विद्यालय सुधारदेखि अन्य भौतिक विकाससम्म उल्लेखनीय काम भएको छ,” धामीले बताए। उनले जनतालाई निर्वाचनका बेला दिएका वाचा मध्ये करिब ६० प्रतिशत काम पूरा भइसकेको दाबी गर्दै भने, “जनताको अपेक्षा त असीमित हुन्छ, तर हाम्रो क्षमता र स्रोत सीमित छ। त्यसरी हेर्दा पनि वडामा अहिले सकारात्मक परिवर्तन भएको छ भन्नेमा म ढुक्क छु।”
उनले आगामी बाकि काम सम्पन्न गर्ने योजना पनि खुलाए। विशेषगरी विष्णु मन्दिर हुँदै मलास जाने सडक र चम्मन चोकदेखि विष्णु मन्दिरसम्मको सडक अहिले पनि निर्माणाधीन रहेको उनले बताए। २७ सयदेखि २८ सय मिटर भाग कालोपत्रे हुन बाँकी रहेको सो सडक आगामी दिनभित्र सम्पन्न हुने धामीको विश्वास छ। “यी दुई सडक हाम्रो वडाको मेरुदण्ड हुन्। यसले केवल आवतजावत मात्र होइन, धार्मिक पर्यटन र व्यापारिक आवागमनमा पनि ठूलो योगदान पु¥याउनेछ,” धामीले बताए।
वृद्धभत्ता वितरणको विषयमा धामीले आफ्नो कार्यकालको अर्को उपलब्धि प्रस्तुत गरे। उनका अनुसार, वडामा वृद्धवृद्धालाई भत्ता पाउन सहज बनाउन बैंकका कर्मचारीलाई वडामै ल्याएर सेवा दिने व्यवस्था गरिएको छ। “तीन दिनसम्म कर्मचारी वडामा नै आएर भत्ता वितरण गर्छन्, छुटेकाहरूलाई फेरि अर्को दिन वितरण गरिन्छ। सूचना नपाएकाहरू र बाहिर रहेका व्यक्तिहरूले पछि बैंक गएर लिन सक्छन्। अहिले नवीकरणको नयाँ प्रणालीले वृद्धहरूलाई समस्या भएको छ, त्यसका लागि भने हामी घरमै पुगेर सेवा दिने तयारीमा छौं,” धामीले भने।
तर, संघ र प्रदेश सरकारसँगको सहकार्य अपेक्षित रूपमा नपाएको उनले प्रष्ट्याए। उनका अनुसार, वडामा पुग्ने बजेट अन्य वडासँग तुलना गर्दा कम छ। “संघ र प्रदेश सरकारबाट चाहिने सहयोग पर्याप्त पाइएन। यसले हाम्रो योजनामा केही असर परेको छ। तर हामीसँग जे छ, त्यसलाई सकेसम्म प्रभावकारी ढंगले प्रयोग गरेका छौं,” उनले टिप्पणी गरे।
जनतासँगको सम्बन्धबारे कुरा गर्दा धामीले स्थानीय बासिन्दालाई आभार प्रकट गरे। उनका अनुसार, विकासका कामलाई बुझ्न र सहयोग गर्न यहाँका जनता सधैं अग्रसर छन्। “हामीले गरिराखेका कामहरू जनताले बुझेनन् वा हामीले बुझाउन सकेनौं भने समस्या आउँछ। तर, यहाँको जनता सजग र सहयोगी छन्। उनीहरूले सोचेजति सहयोग गरेका छन्,” धामीले भने।
आफ्नो कार्यकालको उपलब्धि र सीमाबारे प्रष्ट्याउँदै धामीले केही वाचा पूरा गर्न नसकिएको स्वीकार गरे। उनले भने, “हामीले जनतालाई दिएका वाचा सबै पूरा गर्न नसक्ने देखिन्छ। जति गर्न सक्यौं गर्यौं, बाँकी गर्न नसकिएकोमा जनतासमक्ष हात जोडेर माफी माग्छौं।” उनले बाँकी रहेका काम आगामी २०८४ पछि निर्वाचित हुने जनप्रतिनिधिहरूले निरन्तरता दिने विश्वास व्यक्त गरे।
उनले भने, “विकास निरन्तरता खोज्छ। हामीले सुरु गरेका धेरै कामहरू पूर्णतया सक्न बाँकी छन्। यी कामहरू निरन्तरता पाएनन् भने जनताले नै घाटा बेहोर्नु पर्छ। त्यसैले भविष्यमा आउने नेतृत्वले हाम्रो सुरु गरेको कामलाई निरन्तरता दिनुपर्छ।”
भीमदत्त नगरपालिका–३ भौगोलिक रूपमा व्यापारिक, धार्मिक र शैक्षिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यहाँका नागरिकलाई आधारभूत पूर्वाधार, सामाजिक सुरक्षा र धार्मिक पर्यटक मार्ग विकास मुख्य आवश्यकताका रूपमा देखिन्छ। वडाअध्यक्ष धामीले आफ्नो कार्यकालमा यी प्राथमिकतालाई केन्द्रमा राखेर अघि बढाएको दाबी गरेका छन्।
एकातिर खानेपानी, सडक र सामाजिक सुरक्षामा ठोस काम देखिन्छ भने अर्कोतिर बजेट अभाव, संघ–प्रदेशसँगको सहकार्य नपुगेको र जनअपेक्षाभन्दा कम उपलब्धि हासिल भएको देखिन्छ। तर धामीले खुला रूपमा सीमाहरू स्वीकार्दै आत्मालोचना गर्न सक्ने शैली देखाएका छन्, जसले जनतासँगको सम्बन्ध अझै बलियो बनाउन सहयोग पु¥याउने देखिन्छ। उनले अन्तिममा भने, “हामीले सक्ने हदसम्म ईमानदार प्रयास ग¥यौं। बाँकी कुरामा जनताको माया, समर्थन र धैर्यले नै भविष्यका कामलाई सहज बनाउनेछ।”

अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय