२०८२ चैत्र १९, बिहिबार


कञ्चनपुर:
कञ्चनपुरको महेन्द्रनगर बजारको मुटुमा रहेको महेन्द्र स्मारक पछिल्लो समय युवाहरूको सक्रियताका कारण नयाँ रूप लिएर उभिएको छ। वर्षौँदेखि जीर्ण र उपेक्षित अवस्थामा रहेको स्मारक सरसफाइ, रङ्गरोगन र झिलिमिली उज्यालोसहित पुनः आकर्षक बनेको हो। केही समयअघिसम्म स्मारक परिसर डम्पिङ साइडजस्तै देखिन्थ्यो। भित्र छरपस्ट फोहोर, प्लास्टिकका बोरा, चुरोटका ठुटा र फुटेका सिसासँगै लागू औषध प्रयोगकर्ताले प्रयोग गरेका सुईहरू भेटिन्थे। सार्वजनिक स्मारकभित्रै यस्तो अवस्था देखिनु केवल सौन्दर्यको प्रश्न मात्र नभई सामाजिक र सुरक्षाको गम्भीर संकेत पनि थियो।
उक्त क्षेत्र भीमदत्त नगरपालिकाको दायित्वभित्र पर्दा पनि लामो समयसम्म आवश्यक ध्यान नपुगेको स्पष्ट देखिन्थ्यो। बजारको मुख्य भागमै रहेको स्मारक जीर्ण बन्दै जाँदा नगरपालिकाको प्राथमिकतामाथि प्रश्न उठेको थियो। बजार सौन्दर्यीकरणका योजना र प्रतिबद्धता कागज र भाषणमा सीमित भएको टिप्पणी स्थानीयहरूबाट सुनिँदै आएको थियो। यस्तै अवस्थामा संयुक्त युवा समूहले स्वस्फूर्त रूपमा सरसफाइ अभियान सुरु गर्दै थुप्रिएको धेरैभन्दा धेरै फोहोर हटायो, झाडी सफा गर्यो, भित्ताहरू रङ्ग्यायो र रातको समयमा उज्यालोको व्यवस्था गर्यो। अहिले स्मारक परिसर सफा र आकर्षक देखिन थालेको छ भने मानिसहरू पुनः त्यहाँ पुगेर बस्न र फोटो खिच्न थालेका छन्।
यस अभियानले ‘गर्न चाहे के हुँदैन’ भन्ने सन्देश दिएको छ। सीमित साधन र श्रमदानका भरमा युवाहरूले देखाएको परिवर्तनले नगरपालिकाको कार्यशैलीमाथि अप्रत्यक्ष व्यङ्ग्य गरेको छ। स्थानीयस्तरमा मेयर पदम बोगटीले गर्न नसकेको काम युवाहरूले गरेर देखाएको चर्चा भइरहेको छ। बजारका अन्य क्षेत्रहरूमा पनि सुकिसकेका फुलबगैँचा, ओइलाएका बिरुवा र धूलाम्मे सार्वजनिक स्थलहरूले समग्र व्यवस्थापनको कमजोरी उजागर गरिरहेका छन्। महेन्द्र स्मारकको उदाहरणले इच्छाशक्ति र प्रतिबद्धता भए बजार साँच्चिकै सुन्दर बनाउन सकिने सम्भावना देखाएको छ। अब प्रश्न उठेको छ—यो परिवर्तनलाई दीर्घकालीन रूपमा जोगाउने जिम्मेवारी कसले लिने र नगरपालिकाले यसबाट कस्तो पाठ सिक्ने?

अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय